जनता टाइम्स

२२ श्रावण २०८०, सोमबार १६:५३

‘सुन तस्करी प्रकरणले स्वाभिमानी नेपालीहरूको सिर निहुरिएको छ’


काठमाडौं, साउन २२ । राष्ट्रिय सभा सदस्य पार्वती (दिलकुमारी) रावलले सत्ता संरक्षित सुन तस्करी प्रकरणले नेपालीको सिर निहुरिएको बताउनु भएको छ । नेतृ रावलले यस प्रकरणले नेपालको सुरक्षा व्यवस्थामाथि अन्तर्राष्ट्रिय समुदायले प्रश्न उठाएको भन्दै उच्चस्तरीय छानविन अनिवार्य रहेको निचोड पनि सुनाउनु भएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा बोल्दै रावलले सो घटनाले नेपालको सुरक्षा व्यवस्था उदाङ्गो भएको बताउनुभयो । रावलले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि धुमिल भएको टिप्पणी पनि गर्नुभयो । ‘स्वाभिमानी नेपालीहरूको सिर निहुरिएको छ, यस्तो परिस्थितिमा पनि वर्तमान गठबन्धन सरकार गम्भीर देखिँदैन’, उहाँले भन्नुभयो ।

उहाँले सुन तस्करी काण्डमा सरकारको संलग्नता रहेको कुरा अनेक तथ्यले पुष्टि भएको बताउनुभयो । सरकारले गर्ने छानबिनमा आफूले आफैँलाई दोषी करार गर्न नसक्ने भन्दै उहाँले निष्पक्ष छानबिन गर्न उच्च स्तरीय समिति आवश्यक रहेको प्रष्ट पार्नुभयो ।

सुन तस्करीमा संलग्न भनिएका तिब्बती मूलका नागरिक दावा छिरिङ शेर्पाले नेपाल सरकारको ठाडो आदेशमा २०७४ पुस २० गते काभ्रे जिल्ला प्रशासनबाट नागरिकता लिएको बताउँदै रावलले त्यति बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री, नेपाली कांग्रेसकै विमलेन्द्र निधि गृह मन्त्री रहेको र माओवादीसमेत सो सरकारमा रहेको स्मरण गराउनुभएको छ । रावलले आरोपी दावाले नेपालबाटै राहदानी समेत लीसकेको बताउनुभयो ।

‘सरकारले गर्ने छानबिनले त्यस बेलाका दोषीलाई छानबिनको दायरमा ल्याउन सक्छ भन्ने कुरामा हामीलाई शंका छ, किमार्थ गर्न सक्दैन’, रावलले भन्नुभयो । एउटा सामान्य मजदुरको नाममा कम्पनी दर्ता गरी गरिएको अवैध धन्दाको सबै पाटो छानबिन हुनुपर्ने उहाँले बताउनुभयो । सुन तस्करी काण्डमा राज्यको संगठित संलग्नता रहेको उहाँको भनाइ छ । सुन तस्करीको सवाल राष्ट्रिय सुरक्षासँग जोडिएको सवाल र अन्तर्राष्ट्रिय सम्बन्धसँग जोडिएको सवाल भएकोले पनि उच्चस्तरीय छानबिन समिति गठन हुनुपर्ने अडान पनि रख्नुभयो ।