जनता टाइम्स

२२ श्रावण २०८०, सोमबार १८:५१

संसद अवरोधले जनताका आवाज रोकिए, सहमतिमा ढिलाई गर्नुहुन्न : सभामुख घिमिरे


काठमाडौं, साउन २२ । सभामुख देवराज घिमिरेले संसद्‍को अवरोध हटाउने सम्बन्धमा मंगलबार बस्ने शीर्ष नेताहरूको बैठकबाट सहमति जुट्ने अपेक्षा व्यक्त गर्नुभएको छ । सभामुख घिमिरेले मंगलवार दिउँसो ३ बजे संसद्‍ बैठक सुरु हुनुभन्दा पहिले नै शीर्ष नेताहरूबीच सहमति निस्कने अपेक्षा राख्नुभएको हो ।

सभामुख घिमिरेले संसद्‍ अवरोध भइरहँदा जनताका आवाज रोकिएको सहमतिमा ढिलाई नगर्नसमेत दलहरुलाई सुझाव दिनुभएको छ । ‘दलहरुबीच सहमतिको विकल्प छैन । संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन । माननीयहरुले प्राकृतिक विपत लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन । मैले अधितकम रुपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु,’ आजको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घिमिरेले भन्नुभयो, ‘आशा छ, भोलि दिउँसो ३ बजे बस्ने बैठक अगावै दलहरुबीच सहमति हुनेछ ।’

आजको बैठकमा बैठकमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले गम्भीरतापूर्वक छलफल गरेको तर, सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरु पूर्ण निष्कर्षमा पुग्न नसकेको बताउनु भयो । संसद् खुलाउने सम्बन्धमा आफूले दलहरुबीच आपसी विश्वास, एकता र सहकार्य कायम गर्न पहल गर्दै आएको पनि उहाँले बताउनु भयो ।

‘म दलहरूबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा छु । यही अनुरुप मैले सूचना टाँसेर पटक पटक बैठक स्थगित गरेको हो । तर, सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा छैन । आशा छ, भोलिदेखि हामी सदनको नियमित कारबाहीमा जानेछौं,’ सभामुख घिमिरेले भन्नुभयो ।