कैलाली, साउन २३ । अबिराल बर्षासँगै कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ बुढितोलाको भावर टोल माथिबाट चर्किएर जमिन भासिँदा बस्ती विस्थापित बनेको छ । बर्षाको कारण बस्ती तल रहेको भीमदत्त राजमाग चिराचिरा पर्दा आवागमन ठप्प बनेको छ ।
सोमबार राति आएको अविरल वर्षाका कारण बस्ती माथिबाट जमिन दरार परेर ९ घर भासिएका छन । यस्तै भीमदत्त राजमार्गको ४ सय मिटर सडक चिराचिरा परेको छ । सुदूरपश्चिमका सात वटा पहाडी जिल्ला जोड्ने सडक चिराचिरा पर्दा सयौँ यात्रु अलपत्र परेका छन । तराईका कैलाली र कञ्चनपुरसँग जोड्ने भीमदत्त राजमार्ग चिराचिरा पर्दा यातायात सुचारु हुन अझै केही दिन लाग्ने बताइएको छ ।
सोमरबार राति ११ बजे जमिन भासिए पनि १ बजे राति निद्रा खुलेपछि हेर्दा सडकभरि पानी र जमिन चर्किएको देखेपछि घरपरिवारसँगै छिमेकीलाई उठाएर सुरक्षित ठाउँमा भागेको स्थानीयवासीले बताएका छन । स्थानीय लक्ष्मी राईका अनुसार बस्ती भासिएर चिराचिरा पर्नुका साथै सडक नै उध्रिएको देखेपछि सबै अत्तालिएर ज्यान जोगाउन भागेका थिए ।
राति १ बजे टोलका ९ वटै घरका मानिसहरु हुल बाँधेर नजिकैको बस्तीमा रहेका आफन्तको घरमा सहारा लिन पुगेको राईको भनाई छ । बस्ती भासिँदा भावर टोलका लक्ष्मी राई, टेकबहादुर राई, वीरबहादुर राई, वसन्त राई, नारायण राई, राकेश घिमिरे, ईश्वर बोहरा, दिनेश आलेमगर र कमल रोकामगर विस्थापित बन्नुपरेको छ । सवैको घर चिराचिरा पर्नुका साथै बस्न लायक छैन । भावर टोल क्षेत्रमा मात्रै नभई भीमदत्त राजमार्गको ठाउँठाउँमा पहिरो गएको छ ।

पहिरो गएको ठाउँमा डोजरले हटाए पनि भावर टोलको पहिरो तथा भासिएको जमिन क्षेत्रमा सडक पूर्णरुपमा अवरुद्ध छ। पहिरो र रुख रहेकाले डोजर सडक उध्रिएको ठाउँमा पुग्न समय लाग्ने भएको छ । सडकमा पहिरो जानुका साथै उध्रिएका कारण तत्काल सडक यातायात सुचारु हुने सम्भावना छैन। वर्षात जारी रहेकाले अवरोध हटाउने र चिराचिरा परेको ठाउँमा वैकल्पीक सडक बनाउन कठिनाइ भइरहेको छ ।
तराईबाट जाँदा पहिलो पटक देखिने पहिरोमा सडक डिभिजन कार्यालय महेन्द्रनगरको प्राविधिक समूहले डोजर चलाए पनि चिराचिरा परेको सडकमा कसरी ट्रयाक खोल्ने भन्ने समस्या देखिएको छ । अहिले सो क्षेत्रमा नेपाल प्रहरी र नेपाली सेनाले उद्धारको कार्य गरिरहेका छन । सडक अवरुद्ध भएपछि पहाडबाट बिरामी लिएर आएको एम्बुलेन्सबाट बिरामीलाई स्टेचरमा बोकेर डाँडो छिचोल्दै नेपाली सेनाले बिरामीहरुको उद्धार गरिरहेको छ ।













प्रतिक्रिया दिनुहोस्