जनता टाइम्स

२४ श्रावण २०८०, बुधबार १३:३०

कांग्रेस सांसद खतिवडालाई एमाले सचेतक बर्तौलाको मुखभरीको जवाफ,भन्नुभयो-‘देशलाई तस्करहरूको अखडा बनाउन एमालेले सघाउनु पर्ने हो ?’


काठमाडौं, २४ साउन । काँग्रेसका सांसद रामहरि खतिवडाले नेकपा (एमाले) ले बार्गेनिङका लागि सांसद अवरुद्ध गरेको भन्ने आरोपलगाएपछि एमाले सचेतक महेश बर्तौलाले मुखभरीको जवाफ फर्काउनुभएको छ । बर्तौलाले ‘देशलाई तस्करहरूको आखाडा बनाउन एमालेले सघाउनु पर्ने हो ?’ भन्दै गर्जिएपछि रामहरिको अनुहार मलिन बनेको थियो ।

प्रतिनिधिसभाको बुधबार (आज)को बैठकमा क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविनको माग गर्दै एमाले सांसद आ–आफ्नो स्थानबाट उठेपछि त्यसको प्रतिवाद गर्दै काँग्रेस र माओवादी सांसद पनि आ–आफ्नो स्थानबाट उठ्नुभएको थियो त्यसपछि सभामुखले काँग्रेस सांसद रामहरि खतिवडालाई बोल्न समय दिनुभएको थियो । संसदमा बोल्दै खतिवडाले एमालेले वार्गेनिङ गरेको आरोप लगाउनु भएको थियो ।

खतिवडाले भन्नुभयो ‘एमालेले कसरी समितिको नेतृत्व पायो भन्ने कुरा तपाईंहरूले नै खोज्नुहोला । तर, प्रश्न उसले बार्गेनिङ गर्दै जाने अनि सरकारले दिँदै जाने कुरा मात्र होइन, प्रश्न राज्यका संयन्त्रमाथि विश्वास गर्ने कि नगर्ने भन्ने हो,’ खतिवडाले भन्नुभयो, ‘हिजो ललितानिवास प्रकरणमा उहाँहरूको सरकारले सीआईबीले छानबिन गर्ने जिम्मा पाउने आज त्यही संयन्त्रमाथि अविश्वास गर्ने कस्तो माग हो ?’

सीआईबीमाथि अविश्वास गर्ने, राजस्व अनुसन्धानमाथि अविश्वास गर्ने अनि अदालतमाथि पनि अविश्वास गर्ने कुराले राज्यलाई बलियो हुन नदिने उहाँले बताउनुभयो । एमालेको मागका पछाडि राज्य संयन्त्रबाट हुन सक्ने छानबिन रोक्ने नियत देखिएको उहाँको आरोप थियो ।

‘सुनकाण्ड, ललितानिवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरणपछि अब त यती, ओम्नी प्रकरण पनि छानबिन होलान् । गिरिबन्धु जग्गा प्रकरण पनि छानबिन होला भनेर उहाँहरू आत्तिनुभएको छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले राज्यका संयन्त्रलाई काम गर्न नदिएर भोलिका दिनमा हुन सक्ने छानबिन उहाँहरू रोक्न खोज्दै हुनुहुनछ ।’

जवाफमा एमालेका सचेतक बर्तौलाले आफूहरूका मागलाई पन्छाउन प्रतिगामी षड्यन्त्र सुरु भएको टिप्पणी गर्नुभयो । उहाँले सुन तस्करी प्रकरणमा प्रधानमन्त्री, गृहमन्त्री र अर्थमन्त्रीमाथि नै छानबिन आवश्यक देखिएको बताउनुभयो । त्यो आवश्यकता गृह मन्त्रालय मातहतको सीआईबीबाट पूरा हुन नसक्ने उहाँले उल्लेख गर्नुभयो ।

‘विमानस्थलबाट निकालिएपछि सडकबाट ट्याक्सीमा क्विन्टल बढी सुन बरामद भएको छ । राजस्व अनुसन्धान विभागले सुन आउँदै छ भनेर १० दिनअघि थाहा पाएर प्रधानमन्त्रीलाई जानकारी गराएको भनेको छ,’ बर्तौलाले भन्नुभयो, ‘त्यसरी सुन आउँदै छ भन्ने कुरा प्रधानमन्त्रीले गृहमन्त्री र अर्थमन्त्रीलाई भन्नु भएन वा भनेर पनि सुन तस्करीका लागि सहयोग गरियो र त्यो विमानस्थलबाट बाहिरियो ?’

उहाँले शंकास्पद व्यक्तिहरूलाई उन्मुक्ति दिने छानबिनको पक्षमा एमाले नरहेको बताउनुभयो । ‘के एमाले संसद्‌मा गएर प्रतिपक्षको बेन्चमा मुखमा पट्टी बाँधेर बस्नुपर्ने हो ? कि त्योभन्दा पनि अघि बढेर पुष्पकमल दाहाल ‘प्रचण्ड’की जय भन्नुपर्ने हो ? देशलाई तस्करको अखडा बनाउन सघाउनुपर्ने हो ?,’ प्रश्न गर्दै बर्तौलाले भन्नुभयो, ‘माफ गर्नुहोला, एमालेले त्यसो गर्दैन ।’

उहाँले अनुसन्धान संयन्त्रको सीमा बुझेर एमालेले उच्चस्तरीय छानबिनको माग गरेको स्पष्ट पारे । सुनकाण्डलाई ढाकछोप गर्न चाहने स्वार्थ समूहले मात्र एमालेमाथि विभिन्न आरोप लगाएको उहाँको भनाइ छ ।