जनता टाइम्स

२५ श्रावण २०८०, बिहीबार ०९:३५

बाढीले डुवायो सिंगो बस्ती, साढे २ सय बढी परिवार विस्थापित


काठमाडौं, साउन २५ । वाग्मती र लालबकैया नदीमा आएको बाढी बस्तीमा पस्दा रौतहटमा करिब २ सय परिवार विस्थापित भएका छन । यस्तै दोदा नदीमा आएको बाढी बस्तीमा पस्दा कञ्चनपुरमा ३५ परिवार विस्थापित छन ।

रौतहटमा राजपुर नगरपालिकाको बैरियामा निर्मित तटबन्ध भत्काएर लालबकैया नदी गाउँ पसेपछि ४८ परिवार विस्थापित भएका हुन । त्यस्तै वाग्मतीको बाढी गाउँ पसेपछि दुर्गा भगवती गाउँपालिकाका बडहर्वा, जठरहिया र बसतपुरका ७० घर परिवार एवं राजदेवी नगरपालिकाका चण्डिया, लक्ष्मीपुर र पथराको ५६ घर डुबानमा परेको प्रहरीले जनाएको छ । बाढी प्रभावित घरपरिवारलाई खाद्यान्न, झुल र अन्य मानवीय सहयोग उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो ।

विस्थापितहरूको बसोबास व्यवस्थापनका लागि जिल्ला विपद् व्यवस्थापन समितिले १ सय २५ त्रिपाल दिएको छ । विस्थापित परिबारलाई राजपुर नगरपालिकाले मेस चलाएर सामूहिक भोजनको व्यवस्था गरेको नगर प्रमुख राजिक आलमले जानकारी दिनुभयो । रौतहटमा सोमबारदेखि परेको अविरल वर्षापछि बाढी आएको हो ।

कञ्चनपुर, पुनर्वास नगरपालिका–५ को सिमरीका ३० परिवार र रातोसालका ५ परिवार विस्थापित भएका हुन । सोमबारदेखि परेको वर्षापछि दोदा नदीमा आएको बाढी मंगलबार राति लालझाडी गाउँपालिका हुँदै बस्तीमा पसेको छ । नदीमा बाढी घटे पनि बस्तीमा पसेको पानी निकास नभएका कारण बुधबारसम्म घटेको छैन । उक्त क्षेत्रमा बस्तीभन्दा अग्लो हुने गरी हुलाकी सडक निर्माण भएका कारण निकास नभएको पुनर्वास–५ का वडाध्यक्ष पदमबहादुर रोकायाको भनाई छ ।

विस्थापितलाई वडा कार्यालयले खाद्यान्न सहयोग गरेको छ । सबै विस्थापितलाई एकै ठाउँमा खाना खाने व्यवस्था मिलाइएको वडाध्यक्ष रोकायाले बताउनु भयो ।यसैबीच, महाकाली नदीमा आएको बाढीका कारण शारदा ब्यारेजको पुलमा ठूला सवारीसाधन बुधबार दिनभरि बन्द गरिएको थियो । साँझ ७ बजेको मापनअनुसार महाकालीमा पानीको बहाव ९९ हजार ६ सय ४५ क्युसेक पुगेको छ । बुधबार बिहान नदीमा पानीको बहाव १ लाख ३५ हजार क्युसेक पुगेको थियो । पुरानो जीर्ण पुलमा जोखिम हुने भन्दै नदीमा पानीको बहाव १ लाख क्युसेक नाघ्नेबित्तिकै चार पांग्रे सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ ।

कैलालीका विभिन्न पालिकामा सयौं परिवार प्रभावित भएका छन । प्रभावित हुनेमा भजनी नगरपालिकाका बासिन्दा धेरै छन् । नगर प्रमुख केवल चौधरीका अनुसार भजनीका विभिन्न वडामा बाढीबाट प्रभावित छन । बाढीबाट अत्यधिक प्रभावित हुनेमा कुसुमघाट, ढुसी, बर्दवा, कनैयापुर, बहादुरपुर, जनकपुर, मिजाहा र सोनाफाँटाका बासिन्दा छन । काँढा र पथरैया नदीको बहाव बढेपछि डुबानमा परेको हो । डुबानपीडित हुलाकी राजमार्ग छेउमा त्रिपाल टाँगेर बसेका छन । केही परिवारले सार्वजनिक भवनमा आश्रय लिएका छन ।

उता सोमबार राति गएको पहिरोका कारण अवरुद्ध भीमदत्त राजमार्ग बुधबार पनि सञ्चालन हुन सकेको छैन । क्षतिग्रस्त भीमदत्त राजमार्ग सुदूरपश्चिमका सात पहाडी जिल्लालाई तराईसँग जोड्ने लाइफलाइन हो । प्रदेश प्रहरी कार्यालयका अनुसार गोदावरी नगरपालिका–४ बुढीतोलास्थित बुढीतोला–खानीडाँडा खण्डमा करिब दुई सय मिटर सडक भासिएको छ । पहिरो खसेको र सडकको सतह भासिएकाले सडक मर्मत कार्य कठिन भएको प्रदेश ट्राफिक कार्यालय धनगढीले जनाएको छ ।

मंगलबार बिहानैदेखि डोजर परिचालन गरे पनि क्षतिग्रस्त सडक मर्मतसुधार हुन सकेको छैन । यस्तै बुढीतोलामा राजमार्ग क्षतिग्रस्त हुने गरी गएको पहिरोले कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलाको भावरटोलका ९ परिवार विस्थापित भएका छन ।