जनता टाइम्स

२६ श्रावण २०८०, शुक्रबार १३:२६

राष्ट्रियसभामा देखियो अनौठो दृष्य : प्रतिपक्षसँगै अवरोधमा उत्रियो सत्तापक्ष (भिडिओ)


काठमाडौं, साउन २६ । राष्ट्रियसभा बैठकमा अनौठो दृष्य देखिएको छ । एक क्वीन्टल सुन तस्करी प्रकरणलाई लिएर उच्चस्तरीय छानविन समितिको माग गर्दै संसद अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदन अवरोध गरिरहेको बेला सत्तापक्षले पनि अवरोध गरेको छ ।

एमालेका सांसदहरुले आफ्नो मागको सुनुवाई नभएको भन्दै आज पनि राष्ट्रियसभाको बैठक अवरोध गरेका छन् । दलीय आधारमा नेताहरू बोलिसकेपछि एमाले सांसदहरूले अवरोध गरेका हुन । सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदन अवरोध गर्दै आइरहेको छ । तर आज भने सत्ता पक्षले प्रतिपक्षलाई अवरोध गरेको छ ।

एमालेका सांसदलाई बोल्न दिन लाग्दा सत्तापक्षका सांसदहरूले उठेर विरोध जनाएका थिए । दुवैतर्फबाट सांसदहरू उठेपछि अध्यक्ष गणेश तिमिल्सिनाले अवरोध होइन, यसैगरी मिलेर हाउस चलाउन सघाउन आग्रह गर्नुभयो । अध्यक्ष तिमिल्सिनाले उठेरै संसद चलाउने भएपछि पछि गाह्रो पर्ने भन्दै सांसदहरूमाथि व्यंग्य पनि गर्नुभयो ।

सत्ता र प्रतिपक्ष सांसदहरू उठिरहेपछि अध्यक्ष तिमल्सिनाले साउन ३१ गते बुधबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बैठक स्थगित गर्नुभएको छ ।