काठमाडौं, साउन २६ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) ले सरकारबाट षडयन्त्रको गन्ध आएको भन्दै सरकारमा रहने कि छाडने भन्ने कुरा सरकारको व्यवहारमा भर पर्ने बताएको छ।
गौर हत्याकाण्डमा पीडितसँग छानबिन गर्ने सम्झौता गरेपछि आक्रोशित बनेको जसपाले सरकारबाट षड्यन्त्रको गन्ध आएको बताएको हो। सिंहदरवारस्थि संसदीय कार्यालयमा आज पत्रकार सम्मेलन गर्दै सरकारको रवैयाप्रति जसपाले खेद प्रकट गरेको छ।
‘हामी राजनीतिज्ञ हौं। मुद्दाबाट हामी डराउँदैनौं। तर गौर घटनाको जसरी विकास गरिएको छ। त्यसको हामीले खेद प्रकट गर्न चाहन्छौं। सरकारमा रहने नरहने कुरा सरकारको व्यवहारमा भर पर्छ,’ पत्रकार सम्मेलनमा प्रवक्ता मनिष सुमनले भन्नुभयो । उहाँले यही मुद्दाका लागि सरकार छाड्ने मनसाय नभए पनि सरकारमा राख्ने नराख्ने गठबन्धनमा आबद्ध दलहरूको कुरा पनि रहेको बताउनु भयो ।
उहाँले गौर घटनालाई सरकारले गलत बाटोतर्फ लगेको बताउनु भयो । ‘गौर हत्याकाण्डको छानबिन प्रक्रिया गलत बाटोमा लगिँदैछ। सम्झौतामा भएका धेरै बुँदमा हाम्रो असहमति छ। सम्झौताको पहिलो बुँदामै जाहेरी भएका भन्ने उल्लेख छ। ती बेलाका जाहेरीहरू नै पूर्वाग्रही थिए,’ उहाँले भन्नुभयो ।
१७ वर्षअघि भएको घटनामा अहिले किन सम्झौता गरियो भन्दै उहाँले सरकारप्रति नै संशय गर्नुभयो । विगतमा भएका प्रतिवेदनहरू सार्वजनिक गर्न मागसमेत गर्नुभयो । ‘विभिन्न प्रतिवदेनमा पनि फोरमको शान्तिपूर्ण सभालाई माओवादी बिथोलेको उल्लेख छ। त्यति हुँदाहुँदै १७ वर्षपछि सरकारले किन सम्झौता गर्यो। विगतका प्रतिवदेनहरू सार्वजनिक गरियोस्। संसदीय छानबिन गरी घटनाको सत्य तथ्य पत्ता लगाइयोस,’ प्रवक्ता सुमनको भनाई थियो ।
रौतहटको गौरमा २०६३ चैत ७ गते भएको उक्त घटनामा माओवादीको संलग्नता रहेको उहाँको भनाइ छ। उहाँले तत्कालीन माओवादी नेता प्रभु साहको हठले उक्त घटना घटेको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्