जनता टाइम्स

२७ श्रावण २०८०, शनिबार १३:११

माधव नेपाललाई अर्को झडका, भ्रम टुट्यो भन्दै एमाले प्रवेश गरिन केन्द्रीय सदस्य तुलाधर


काठमाडौं, साउन २७ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीकी वैकल्पिक केन्द्रीय सदस्य कमला तुलाधर नेकपा एमालेमा प्रवेश गर्नुभएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोटस्थित निवासमै पुगेर भेट गरी तुलाधर नेकपा एकीकृत समाजवादी पार्टी त्यागेर एमाले प्रवेश गर्नुभएको हो ।

ललितपुर निवासी तुलाधर माधव नेपाल नेतृत्वको समुह एमाले त्यागेर गठन गरेको नेकपा एकीकृत समाजवादी स्थापनासँगै वैकल्पिक केन्द्रीय सदस्य बन्नुभएको थियो । उहाँले आफूहरु माधवको भ्रममा परेर त्यता लागेको र सो पार्टी नेपालको कम्युनिष्ट आन्दोलनबिरुद्ध रहेको ब्यवहारबाटै प्रमाणित भएको कारण आफू पुरानो घर एमालेमै फर्किएको बताउनु भयो ।

उहाँले आफूहरुलाई माधव समुहले फैलाएको भ्रम हटेको भन्दै सवैलाई एमालेमै समाहित हुन आग्रहसमेत गर्नुभएको छ । नेकपा एकीकृत समाजवादी छाडेर एमाले प्रवेश गर्ने तुलाधर सो पार्टीका ३१औं केन्द्रीय सदस्य हुनुहुन्छ ।