जनता टाइम्स

२८ श्रावण २०८०, आईतवार १०:४४

बासँग घुम्न जाने भन्दै मुगुका दुई छोरी ओली निवास बाल्कोट आएपछि


काठमाडौं, साउन २८ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अभिभावकत्व लिएको मुगुका दुई किशोरीसँग आफ्नै निवासमा भलाकुसारी गर्नुभएको छ । बिदाको दिन पारेर शनिवार बालकोट आइपुगेका दुवै छोरीहरुसँग अध्यक्ष ओलीले केही समय बिताउनु भएको हो ।

कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल रारामा २०७५ सालमा रारा पर्यटन वर्षको कार्यक्रममा सहभागी हुन जाँदा तत्कालीन प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले त्यहाँका दुई किशोरी ठन्ले साङ्मु लामा र छिरिङ लामाको अभिभावकत्व ग्रहण गर्नुभएको थियो । मुगुमा विद्यालय अनियमित भएर पढ्न नपाएपछि उनीहरूलाई ओलीले काठमाडौँको एक आवासीय विद्यालयमा पठनपाठनको व्यवस्था मिलाएका छन् ।

विद्यालय बिदाको बेला बेलाबखत बालकोट पुग्छन् । शनिवार ओलीसँग भेट्दै उनीहरुले घुम्न जाने इच्छा व्यक्त गरेका थिए । हिजो आफ्नो फुर्सद नमिलेको ओलीले बताउनुभएको छ । सो भेटका क्रममा बालिकाहरुका आमासँग ओलीले भिडियो कलमा कुरा गराइदिनु भएको थियो ।
‘राम्रोसँग पढ्छु भनेका छन्। अर्को महिनामा लुगा किन्न जाने कुरो भएको छ ।खुशी छन् छोरीहरु’ ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

एमाले अध्यक्ष ओलीले विभिन्न दुर्गम र मधेशका जिल्लाका गरिब २ दर्जन बालबालिकालाई अभिभावकत्व दिएर पढाइरहनु भएको छ ।