जनता टाइम्स

२९ श्रावण २०८०, सोमबार २१:१९

व्यापार मेलामा श्रीमती र छोरासहित सहभागी हुँदै उपराष्ट्रपति, शिक्षामन्त्री पनि जाने


काठमाडौं, २९ साउन । चीनको कुनमिङमा आयोजना हुँदै गरेको ‘चाइना कुनमिङ आयात तथा निर्यात मेला (कुनमिङ फेयर)मा व्यापार तथा लगानीसँग कुनै सरोकार नै नभएका उपराष्ट्रपति रामसहायप्रसाद यादव र शिक्षामन्त्री अशोककुमार राई सहभागी हुदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका अनुसार ३१ साउनदेखि ३ भदौसम्म आयोजना हुने फेयरमा उपराष्ट्रपतिको नेतृत्वमा जम्बो टोली सहभागी हुँदै छ । उपराष्ट्रपति यादव श्रीमती चम्पादेवी यादव र छोरा शत्रुधन यादवसहित मेलामा सहभागी हुँदै छन् ।

छोरालाई उहाँले उपस्वकीय सचिवमा नियुक्त गर्नुभएको छ । परिवारका अतिरिक्त उपराष्ट्रपतिको टोलीमा कार्यालयबाटै थप चारजना भ्रमणमा सहभागी हुनुहुन्छ। भ्रमणमा उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, उपराष्ट्रपतिका निजी चिकित्सक डा. शिवजीविक्रम सिलवाल तथा दुई जना नेपाली सेनाका अंगरक्षक पनि सहभागी हुने कार्यालयका सूचना अधिकारी प्रवीण पौडेलले जानकारी दिनुभयो । त्यस्तै, परराष्ट्र मन्त्रालयका प्रोटोकल महाशाखाका उपप्रमुख पारस पण्डित पनि उपराष्ट्रपतिको भ्रमण दलमा हुनुहुनछ ।त्यस्तै, शिक्षामन्त्री राई र परराष्ट्र सचिव भरतराज पौडेलसहित १८ जनाको सरकारी प्रतिनिधिमण्डल मेलामा सहभागी हुँदै हुनुहुन्छ। मेलाको उद्घाटनका अवसरमा बुधवार उपराष्ट्रपतिले सम्बोधन गर्ने कार्यक्रम पनि छ ।‘उपराष्ट्रपतिको नेतृत्वमा सो मेलामा सहभागिता हुँदा मुलुकको उचित प्रतिनिधित्व हुने ठानेर नै मन्त्रीपरिषद्ले निर्णय गरेको हो । त्यसैका आधारमा उपराष्ट्रपतिको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल मेलामा सहभागी हुन लागेको हो,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भन्नुभयो ।नेपाली प्रतिनिधिमण्डलमा वाणिज्य सचिव, परराष्ट्रसचिव सहितको प्रशासनिक नेतृत्व पनि सहभागी हुने भएकाले त्यहाँ व्यापार तथा लगानीका लागि नेपालले उचित पहल गर्नसक्ने उहाँले बताउनुभयो ।

सातौं चीन–दक्षिण एसिया एक्स्पोमा नेपाल ‘थिम कन्ट्री’ का रुपमा सहभागी हुने र त्यहाँ नेपाल पेभिलियनसमेत रहने परराष्ट्र मन्त्रालयले जनाएको छ । मेलामा नेपालका ५६ वटा स्टल रहने वाणिज्य मन्त्रालयले जनाएको छ । मेलामा १ सयभन्दा बढी नेपाली व्यवसायीहरुले आफ्ना उत्पादन प्रदर्शन गर्दै छन् ।मेलामा नेपालका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री र सचिवलाई मेलामा सहभागिताका लागि निमन्त्रणा आए पनि मन्त्री रमेश रिजाल भने सहभागी नहुने बताउनुभयो । व्यापार तथा लगानीको काम गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट भने तीनजना मात्रै सहभागी हुँदै छन् । सो कार्यक्रममा वाणिज्य सचिव मधुकुमार मरासिनी, व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्र (टीईपीसी)का कार्यकारी निर्देशक शरदविक्रम राणा र एकजना उपसचिव सहभागी हुँदै गरेको मन्त्रालय स्रोतले जानकारी दियो ।सामान्यतया राज्यका उच्चपदस्थहरु विदेश भ्रमणमा जाँदा सम्बन्धित मुलुकका काउन्टरपार्टसँग भेटघाट हुनुपर्ने हो । तर, कुनमिङमा यादवको चीनका उपराष्ट्रपतिसँग भेटघाट हुँदै छैन ।

यस्तो भ्रमणमा पारस्परिक सम्मान हुनुपर्ने हो, तर चीन आफैंले नेपालका उपराष्ट्रपतिलाई बोलाएर अपमान गरेजस्तै देखिएको छ,’ एक विश्लेषकले भने, ‘असम्बन्धित क्षेत्रको कार्यक्रममा उच्चपदस्थलाई बोलाउने तर सामान्य प्रोटोकलअनुरुपको व्यवहार पनि नगर्ने देखिएको छ ।’ कस्ता कार्यक्रममा जाने, कस्तामा नजाने भन्ने विषय सम्बन्धित व्यक्तिले नै हेर्नुपर्ने उहाँले बताउनुभयो । ‘नेपाली अधिकारीहरु विदेश भनेपछि जहाँ पनि जान्छन्, जसले देशको समेत इज्जतमा दाग पुग्ने गरेको छ,’ उहाँले भन्नुभयो ।कुनमिङ एक्स्पो नेपालको निर्यात प्रवर्द्धन गर्ने र लगानी आकर्षित गर्ने उपयुक्त थलो भएकाले त्यहाँ नेपाल सरकारको तर्फबाट उचित प्रतिनिधित्व हुनुपर्ने पूर्व वाणिज्य सचिव चन्द्रकुमार घिमिरे बताउँनुभयो ।‘नेपालको निर्यात तथा लगानीका लागि छलफल गर्ने यो निकै महत्वपूर्ण अवसर हो, त्यहाँ सरकार–सरकारबीच तथा निजी क्षेत्र–निजी क्षेत्रबीच वार्ता तथा सम्झौता हुनसक्छन् । त्यसो हुँदा त्यहाँ सम्बन्धित सरकारी निकायबाट हुने तयारी र प्रतिनिधित्वले मात्रै ती विषयलाई आधिकारिकता दिन, कार्यान्वयन गर्न र फलोअप गर्न सहज हुन्छ ।

त्यही नै देशको लगानी र आर्थिक हितका लागि उपयुक्त हुन्छ,’ उहाँले भन्नुभयो । मेलामा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लगानी बोर्डलगायतबाट राजनीतिक, ब्यूरोक्रयाटिक तथा प्राविधिक स्तरमा यस्ता अवसरमा सहभागिता हुनुपर्नेमा त्यसमा चुक्दा मुलुकको हित नहुने उहाले बताउनुभयो । दक्षिणी चीनको युनान राज्यमा रहेको कुनमिङमा ‘साझा विकासका लागि ऐक्यवद्धता र सहयोग’ भन्ने नाराका साथ मेला आयोनजा हुँदै छ । चीनको वाणिज्य मन्त्रालय र युनान सरकारले आयोजना गरेको यो मेलाको सहआयोजकमा दक्षिण एसियाली मुलुकका चेम्बर अर्गनाइजेसनहरु रहेका छन् ।