भक्तपुर, साउन ३०। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल विभिन्न चाडपर्व, संस्कृति र सम्पदाले सम्पन्न मुलुक भएको बताउनुभएको छ । विश्वका कतिपय देशहरू ठूला र विकसित भए पनि नेपालमा जस्तो संमृद्ध संस्कृति र परम्परा अन्त नभएको पनि अध्यक्ष ओलीले बताउनुभयो ।
साउनको अन्तिम सोमबार पारेर भक्तपुरस्थित डोलेश्वर महादेवको दर्शन गर्न हिजो साँझ पुग्नुभएका एमाले अध्यक्ष ओलीले नेपालमा गौरवपूर्ण सनातन परम्परा, संस्कृति रहेको स्मरण गर्नुभयो । त्यसको संरक्षण गर्दै नेपाल र विश्वसलाई नै अघि बढाउन देशका महान विभूतिहरूले महत्वपूर्ण योगदान गरेको बताउनुभयो ।
‘कतिपय विकसित देशहरूमा सनातन परम्परा भन्ने कुरा नै छैन । कति देश ठूला छन् तर भर्खर बनेका छन् । जसमा कुनै संस्कृति विकास हुनै पाएको छैन । तर हाम्रो देश अत्यन्तै गौरवपूर्ण छ,’ अध्यक्ष ओलीले भन्नुभयो ।
प्राकृति पक्ष बाहेक प्रारम्भदेखि नै नेपालमा शिव, पशुपतिनाथ, रुद्र, शंकर, महादेव, केदारनाथ आदि मान्दै आएको उहाँले बताउनुभयो । साउनको सोमबारलाई सैव समुदाय र नाथ सम्प्रदायले विशेष दिनका रुपमा मनाउने गरेको उहाँको भनाई थियो ।
डोलेश्वरलाई केदारनाथको शिर मानिने गरेको बताउँदै ओलीले शंकराचार्यले त्यसलाई प्रमाणित गरेको दाबी गर्नुभयो । नेपाल देवभूमि, अत्यन्तै पावनभूमि, यो तपोभूमि, ध्यानभूमि, ज्ञानभूमि भएको जनाउँदै ओलीले भन्नुभयो, ‘उहाँबाट यो धर्तीमा सभ्यताको सुरुवात शम्भुनाथबाट भएको छ । शम्भुनाथकै एउटा रुप केदारनाथ, यस ठाउँलाई, उहाँको शिवलिंगलाई प्राकृतिकरुपमै केदारनाथको शिर भनेर मानिएको छ । र, शंकराचार्यले यसलाई केदारनाथको शिर भनेर प्रमाणित गर्नु भएको छ ।’
हाम्रा परम्परागत, सांस्कृति तथा संस्कारजन्य कार्यहरुमा सरिक हुन पाएकोमा प्रसन्नता व्यक्त गर्दै एमाले अध्यक्ष ओलीले देशको संस्कृति र परम्परा संरक्षणमा लाग्न आग्रह पनि गर्नुभयो ।
केदारनाथको शिर मानिने डोलेश्वरमा आरती दर्शन तथा टिका ग्रहण गरेका ओलीले त्यसक्षेत्रको विकास र संमृद्धिमा विगत देखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्