जनता टाइम्स

३० श्रावण २०८०, मंगलवार १३:१५

स्थायी कमिटी सदस्य थापालाई स्पष्टिकरण, केशव स्थापित र प्रमोद यादवलाई बिदाई गर्ने एमाले निर्णय


काठमाडौं, साउन ३० । नेकपा एमालेले पार्टी काममा अनुपस्थित हुनुको कारण माग्दै स्थायी कमिटी सदस्य मणि थापासँग स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । सोमवार बसेको सचिवालय बैठकले थापासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

प्रचार विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकले थापाको निष्क्रियताका बारेमा जानकारी लिन लागिएको हो । ’मणि थापा पार्टीमा सक्रिय रहनु भएको देखिएको छैन । त्यस विषयमा जानकारी लिन खोजिएको छ,’ गौतमले भन्नुभयो । गत जेठमा एमालेले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानी)मा थापा छुट्टीमा रहेको उल्लेख गरिएको थियो । एक कार्यक्रममा थापाले एमाले दक्षिणपन्थी पार्टी भएको र त्यसको सुरुवात नेतृत्वबाट भएको भनी टिप्पणी गर्नुभएको थियो ।

बैठकले एमालेले काठमाडौं महानगरपालिकामा पूर्वमेयर केशव स्थापित र प्रमोद यादवलाई केन्द्रीय कमिटीबाट बिदा गरेको छ । एमाले प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले स्थापित र यादवले सोमबार बसेको सचिवालय बैठकले बिदा गरेको बतउनु भयो । स्थापित र यादवको स्थानमा केदार न्यौपाने र छक्कबहादुर लामालाई मनोनीत गरिएको छ । ’केशव स्थापितले केन्द्रीय कमिटीबाट हट्न चाहनुभयो ।

प्रमोदनारायण यादवलाई पनि बिदा गरिएको छ,’ गौतमले भन्नुभयो, ’उहाँहरूको स्थानमा केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय कमिटीमा ल्याइएको छ ।’ न्यौपाने एकीकृत समाजवादीबाट र लामा माओवादीबाट एमालेमा प्रवेश गर्नुभएको थियो । लामो समय काठमाडौंमा राजनीतिमा सक्रिय रहनु भएका स्थापित कुनै समयमा एमालेका चर्चित नेता हुनुहुन्थ्यो ।

उहाँ २०५४ सालमा काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका थियो भने गत स्थानीय तहको निर्वाचनमा पनि काठमाडौं महानगरपालिकामा एमालेको तर्फबाट मेयरको उम्मेदवार बन्नुभएको थियो ।