जनता टाइम्स

३१ श्रावण २०८०, बुधबार १०:४०

कोशीमा मन्त्रिपरिषद विस्तार, ज्येष्ठ सदस्यलाई बनाइयो राज्यमन्त्री


विराटनगर, साउन ३१ । कोशी प्रदेशमा बुधबार मन्त्रिपरिषद् विस्तार गरिएको छ । मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई राज्यमन्त्री नियुक्त गरी मन्त्रिपरिषद बिस्तार गर्नुभएको हो । मण्डलले उद्योग, कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाउनु भएको छ । उहाँलाई प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा मुख्यमन्त्री थापाले पद तथा गोपनीयताको शपथ गराउनु भयो ।

प्रदेश सभाबाट विश्वासको मत लिनलाई मुख्यमन्त्री थापाले चलाखीपूर्ण ढंगबाट ज्येष्ठ सदस्य मण्डललाई राज्यमन्त्री नियुक्त गर्नुभएको हो । कोशी प्रदेश अहिले सभामुखविहीन छ । सभामुख बाबुराम गौतम पदबाट राजीनामा दिएर सरकार गठनमा सहभागी बनेपछि कोशी सभामुखविहीन बनेको हो । नयाँ सभामुख चयनको प्रक्रिया भने अघि बढाइएको छैन ।

सभामुख नहुँदा उपसभामुखले सभा चलाउनुपर्ने व्यवस्था छ । तर, उपसभामुख पनि अनुपस्थित रहेको अवस्थामा ज्येष्ठ सदस्यले सभा चलाउन पर्ने संवैधानिक व्यवस्था छ । सभा चलाउनेले मत बराबर भएको अवस्थामा मात्रै निर्णायक मत दिन पाउँछन । ज्येष्ठ सदस्यले सभा चलाएको अवस्थामा मुख्यमन्त्री थापाले विश्वासको मत पाउने अवस्था बन्दैन ।

राज्यमन्त्री नियुक्त भएपछि मण्डलले सभा चलाउन पाउनु हुन्न । साउन १६ गते मुख्यमन्त्री नियुक्त हुनुभएका थापाले भदौ १५ भित्रमा प्रदेशसभाबाट विश्वासको मत लिइसक्नु पर्छ। सभामुख त्यागेर सरकार गठनमा सहभागी गौतम अहिले प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री हुनुहुन्छ । उहाँ नेकपा (माओवादी केन्द्र)बाट प्रदेशसभा सदस्य निर्वाचित हुनुभएको थियो ।

मुख्यमन्त्री थापाले साउन १७ गते नेकपा (एकीकृत समाजवादी)का कमलप्रसाद जबेगूलाई भौतिक पूर्वाधार विकास र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई खानेपानी, सिँचाइ तथा उर्जामन्त्री नियुक्त गर्नुभएको थियो । साउन २६ गते जनता समाजवादी पार्टी (जसपा) बाट निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्री बनाउनु भएका मुख्यमन्त्री थापाले आन्तरिक मामिला तथा कानुन, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र उद्योग, कृषि तथा सहकारी मन्त्रालय आफैसँग राख्नुभएको छ ।

कोशीको ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि बहुमत पुर्याउन ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ । अहिले ज्येष्ठ सदस्य मण्डललाई राज्यमन्त्रीको जिम्मेवारी दिइसकिएको छ । मण्डलपछि एमालेका रोहितबहादुर कार्की प्रदेशसभाका ज्येष्ठ सदस्य हुनुहुन्छ । एमालेका एक प्रदेशसभा सदस्य मुख्यमन्त्री थापाले विश्वासको मत लिने दिन उपसभामुख सिर्जना दनुवारसहित ज्येष्ठ सदस्यहरु बिदामा बस्ने र जसरी पनि गठबन्धनबाटै सभाको अध्यक्षता गराउने योजनामा छ ।