काठमाडौं, ३२ साउन । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ पनि स्थगित भएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजुकुमार खतिवडाले पीडित गौशाला २६ की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश भने दिनुभएको छ ।
पीडितको आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै न्यायाधीश खतिवडाको इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको छ । अदालतले जन्ममिति प्रमाणीकरण प्राप्त भएको एक साताभित्र पेशी तोक्ने जानकारी गराएको सन्दीपका कानुन व्यवसायी सरोज घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार अदालतले सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जाहेरवाली किशोरीकी आमाको उमेर एकिन गर्न आदेश दिएको छ ।
बिहीबार न्यायाधीश राजुकुमार खतिवडाको इजलासले किशोरीकी आमाको उमेर २०५३ साल भएको पाइएपछि एकिन गर्न आदेश दिएको हो । त्यही विवरणका कारण पीडित भनिएकी किशोरी उनकी आमा ९ वर्षकी हुँदै जन्मिएको देखिन्छ । उक्त विवरण नमिलेको देखिँदा आमाको उमेर एकिन गर्न न्यायाधीश खतिवडाले आदेश दिनुुभएको हो ।
उता किशोरीको उमेर भने घटना हुँदाको समयमा नाबालिग नरहेको, १८ वर्ष पूरा भएको विवरण नारायणी अस्पतालले अदालतलाई पठाएको छ । यो प्रकरणमा ती किशोरीले अदालतको आदेशअनुसार राज्यले पीडित राहत कोषबाट दिने एक लाख रुपैयाँ बुझेर लगिसकेकी छन ।
विश्वकप छनोटका लागि सन्दीप जिम्बाबे प्रस्थान गरेयता सन्दीपविरुद्ध मुद्दाको सुनुवाइले निरन्तरता पाउन सकेको थिएन। सन्दीप जिम्बावेबाट फर्किएलगत्तै मुद्दाको सुनुवाइ भएर आदेश आएको हो।
क्रिकेटर लामिछानेविरुद्ध गौशालास्थित एक होटलमा लगेर नाबालिगलाई बलात्कार गरेको अभियोगमा मुद्दा परेको थियो। उक्त मुद्दा फास्ट ट्ययाकबाट किनारा लगाउन सर्वोच्च अदालतले गत फागुन १५ गते आदेश दिएको थियो । त्यसपछि धेरैपटक पेसी तोकिए पनि सुनुवाइ स्थगन गरिएको थियो।
यसअघि थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो। तर उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दियो। तर विदेश जान नपाउने, काठमाडौं उपत्यका छाड्न परे पनि प्रहरीलाई खबर गर्नुपर्ने, पीडित किशोरीसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सम्पर्क गर्न नपाउनेलगायत सर्त राखिएको थियो। पछि सर्वोच्च अदालतले भने सन्दिपलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश दिएको थियो ।













प्रतिक्रिया दिनुहोस्