काठमाडौं, साउन ३२ । सत्तारुढ नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सत्तामा रहेका शक्तिसम्पन्न व्यक्तिको मिलेमतोबिना विमानस्थलबाट सुन बाहिरिन नसक्ने बताउनु भएको छ ।
सार्वजनिक लेखा समितिको बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँगको कुराकानीमा केसीले यस्तो बताउनु भएको हो । उहाँले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सुन प्रकरणको छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग पनि गर्नुभयो ।
दुईटा मोबाइल र दुई तोला सुनसमेत नछोड्ने विमानस्थलबाट क्विन्टल सुन बाहिरिनुले सत्ता केन्द्रको संलग्नता रहने स्पष्ट हुने उहाँको भनाई छ । ’एउटा सियो, एउटा मोबाइल, दुई तोला सुन एक्सरे गरेर हेर्ने एयरपोर्ट सत्तामा बसेका शक्तिसम्पन्न व्यक्तिको मिलेमतो र संलग्नता नभइकन एक क्विन्टल सुन एयरपोर्टबाट बाहिर निस्किन्छ ? त्यसलाई छान्नको निम्ति निष्पक्ष, पारदर्शी, न्यायिक आयोग गठन हुनुपर्छ,’ केसीले भन्नुभयो ।
विपक्षीले उठाएका कतिपय मुद्दाहरुमा आफ्नो सहमति रहेको केसीले बताउनु भयो । ‘उहाँहरुले उठाउनुभएको इएस्युजहरुमा हाम्रो पनि सहमति छ । जाँचबुझ ऐन, २०२६ अन्तर्गत उच्चस्तरीय न्यायिक समिति बनाउनुपर्छ भनेर म आफैँ पनि भनिरहेको छु । सर्वोच्च अदालतको न्यायाधीश, पूर्वन्यायाधीशहरु राखेर समिति बनाऔं,’ केसीको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्