जनता टाइम्स

३२ श्रावण २०८०, बिहीबार १८:११

नक्कली भुटानी शरणार्थी प्रकरण : थुनामा पठाउने जिल्लाको निर्णयविरुद्धका रिट एकैसाथ राखेर हेर्न उच्च अदालतको आदेश


काठमाडौं, साउन ३२ । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्धका रिट एकैसाथ राखेर हेर्न आदेश दिएको छ।

न्यायाधीश हरिप्रसाद पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासले बिहीबार विभिन्न मितिमा उच्च अदालतमा दर्ता भएका रिट निवेदनलाई एकैसाथ राखेर हेर्न आदेश दिएको हो। बिहीबार १० जना प्रतिवादीको रिट सुनुवाइका लागि पेशीमा तोकिएको थियो।

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नरेन्द्र केसी,टेक नारायण पाण्डे,सानु भण्डारी,आङदावा शेर्पा,डा।इन्द्रजित राई,हरिभक्त महर्जन,लक्ष्मी महर्जन,सन्देश शर्मा,शम्शेर मिया र गोविन्द चौधरीले छुट्टाछुट्टै मितिमा दायर गरेका रिट निवेदन सुनुवाइका लागि पेशीमा चढाइएको थियो।

जिल्ला अदालतको फैसलाविरुद्ध केसी र पाण्डेले साउन १२ गते र बाँकी ८ जनाले साउन १७ गते उच्चमा रिट दायर गरेका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाड,पूर्वउपप्रधानमन्त्री तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीलगायत १८ जना पक्राउ परेका छन्। उहाँहरु सवै हाल पुर्पक्षका लागि थुनामा रहनु भएको छ । छन्।

सोमबार नक्कली भुटानी शरणार्थी बनाइ अमेरिका लैजाने लोभ देखाएर रकम ठगी गरेको आरोपमा १८ जना पीडितले प्रहरीमा उजुरी दिएका थिए। उनीहरूले १ करोड ८५ लाख ९२ हजार बढी रकम ठगी भएको भनी छुट्टाछुट्टै किटानी जाहेरी दिएका थिए।