जनता टाइम्स

१ भाद्र २०८०, शुक्रबार १४:४७

विद्युत प्राधिकरणका कर्मचारीको सेवा सुविधा बढ्यो, यस्तो छ कुलमानको घोषणा


काठमाडौं भदौ १ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कर्मचारीहरूको सेवासुविधा वृद्धि गर्नुभएको छ ।

कार्यकारी निर्देशक घिसिङले शुक्रबार प्राधिकरणको वार्षिक उत्सव कार्यक्रममा कर्मचारीको सेवा सुविधा वृद्धिको घोषणा गर्नुभएको हो ।विद्युत सञ्चालक समितिले विभिन्न समयमा गरेको निर्णयका आधारमा घिसिङले कर्मचारीको सेवा सुविधा बढाउनु भएको हो ।

प्राधिकरणले हरेक वर्ष कर्मचारीलाई दिँदै आइएको वार्षिक उत्सव भत्ता १५ हजारलाई निरन्तर दिएको छ भने महिला कर्मचारीलाई दिएको प्रशुति भत्ता ७ हजार ५ सयबाट १५ हजार बनाइएको छ ।

त्यस्तै विद्युतीय सवारी साधन खरिदमा रु तीन लाखबाट ५ लाख रुपैयाँको सुविधा दिइने घोषणा गरिएको छ भने शैक्षिक अनुदान १० हजारबाट ३० हजार पुर्याइएको छ । यस्तै कर्मचारीलाई दिइँदै आएको दैविक प्रकोप अनुदान रु २० बाट ४० हजार पुर्याइएको छ ।

कामको शिलशिलामा कर्मचारीको मृत्यु भएमा अमर प्रमाणपत्र र परिवारलाई ५ हजार काजक्रिया खर्च उपलव्ध गराउने घोषणा समेत घिसिङले गर्नुभएको छ । यस्तै प्राधिकरणका कर्मचारीका छोराछोरीका लाथि ५० लाख छात्रवृत्ति कोष खडा गर्ने घोषणा समेत घिसिङले गर्नुभएको छ ।

त्यस्तै कर्मचारीको आवास खर्चमा थप एक हजार रुपैयाँ थपिएको छ भने प्रत्येक अफिसमा शिशु स्यहार केन्द्र स्थापना गर्ने घोषणा समेत उहाँले गर्नुभएको छ ।