जनता टाइम्स

१ भाद्र २०८०, शुक्रबार १५:२७

प्रधानमन्त्री-गृहमन्त्रीलाई शंकर पोखरेलको प्रश्न : सुन तस्करीमा गल्ती गरेको छैन भने किन यति धेरै डराएको ?


वीरगञ्ज, भदौ १ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुन तस्करीमा गल्ती नगरेको भए किन यतिधेरै तर्सिएको भन्दै प्रधानमन्त्री र सरोकारवाला मन्त्रीहरुलाई प्रश्न गर्नुभएको छ ।

प्रेस चौतारी पर्साले बीरगञ्जमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले यस्तो प्रश्न सोध्नुभएको हो । ‘सुन तस्करीमा गल्ती गरेको छैन भने सत्तापक्ष यसरी किन डराइरहेको छ ?’ पोखरेलको प्रश्न थियो । उहाँले सुन तस्करी काण्डमा माओवादीका नेतासँग २ सय पटक फोन सम्वाद भएको तथ्य सार्वजनिक भएको उल्लेख गर्दै जवाफ माग्नुभयो ।

‘तस्करसँग त्यति धेरै फोन गर्नुको पछाडि त्यस्तो महत्वपूर्ण कुरा के थियो ? त्यसको जवाफ दिनु पर्छ कि पर्दैन ?’ पोखरेलको भनाई छ । गठबन्धन सरकारका कारण मुलुकमा वैधानिक अर्थतन्त्र कमजोर हुने अवैधानिक तथा तस्करतन्त्र प्रोत्साहित हुने दुःखद अवस्था निर्माण भएको बताउँदै महासचिव पोखरेलले मेहनत गर्ने उद्योग व्यवसायी समस्यामा रहेको बताउनु भयो ।

कतिपयले आत्महत्या गर्नु परेको अवस्थाको समेत चर्चा गर्दै पोखरेलले सरकारलाई यो कुराले कत्ति पनि नपोलेको भन्दै आक्रोश पोख्नुभयो । अर्थतन्त्रमा आएको समस्या सुन तस्करी रहेको पनि पोखरेलले बताउनु भयो । ‘१ महिनामा २ हजार किलो सुन अवैध तरिकाबाट भित्रिएको तथ्य सार्वजनिक भएको छ त्यसको कारणले मात्र १ अर्ब राजस्व हिनामिना भएको छ’, पोखरेलले भन्नुभयो, ‘वैधानिक कारोबार ठप्प गर्ने र अवैधानिक कारोबारलाई प्रोत्साहित गर्ने गठबन्धन सरकारका कारण तस्करी धन्दा फस्टाएको छ ।’

महासचिव पोखरेलले मुलुक राजनीतक अस्थितरता एवं अराजकताको चुनौतीबाट गुज्रिनु परेको तथ्यसमेत औंल्याउनु भयो । महासचिव पोखरेलले जनताको मुख्य रोजाईको पार्टी राष्ट्र सञ्चालनको मुख्य जिम्मेवारीबाट बाहिर रहँदा जनतामा निराशाको अर्को चुनौती पनि थपिएको बताउनु भयो । त्यसले सामाजिक अरजाकताको अवस्था निर्माण गरेको उनको भनाइ छ । ०७४ को जनादेश विपरीत परमादेशबाट नयाँ सरकार गठन गर्ने कामले राज्यका संरचनाहरु कमजोर भएको उहाँको भनाई छ ।

‘अदालत अदालत जस्तो रहेन, संसद संसद जस्तो रहेन, राज्यका सबै अंगहरु कमजोर भएका छन । सरकार राष्ट्र जनताको हितमा काम गर्न नसक्ने गरी निरीह भएको छ,’ महासचिव पोखरेलले थप्नुभयो । उहाँले अहिले सत्ता पक्ष प्रतिपक्षको आवाज दवाउने अभियानमा लागेको पनि बताउनु भयो । ‘सत्ता पक्ष प्रतिपक्षको आवाजलाई दमन गर्न खोज्दैछ’, महासचिव पोखरेलले भन्नुभयो, ‘सुन तस्करी काण्डको न्यायीक निरुपणका लागि छानविन समिति बनाऔ भन्ने हाम्रो मत हो, संसदमा जव प्रतिपक्ष बोल्न खोज्छ तव सत्ता पक्ष उठेर अवरोध सृजना गर्छ ।’

उहाँले बर्तमान सरकार जनताको पक्षमा नरहेको तथ्यसमेत राख्नुभयो । अर्थतन्त्र समस्यामा परेको तर सत्ता निकट व्यापारीको सम्पत्ति ४० अर्ब वृद्धि भएको रिपोर्ट सार्वजनिक हुनुले गठबन्धन सरकार आम जनताको प्रतिनिधत्व गर्न सक्दैन भन्ने कुराको पुष्टि भएको पोखरेलको निश्कर्ष छ ।  महासचिव पाख्रेलले आजै वीरगञ्जमा नेकपा एमालेको मधेश प्रदेशको प्रचार तथा प्रकाशन विभागको कार्यालय उदघाटन गर्नुभएको छ ।

विभागका मधेश प्रदेश संयोजक अरविन्द कुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रमा नेकपा एमालेका मधेश प्रदेशका इञ्चार्ज योगेश भट्टराई पुरुषोत्तम पौडेल, अच्यूत मैनाली, प्रभू हजरा, राजकुमार गुप्ता, कल्पना कटुवाल सरोज यादव, जुली महतो, पर्साका अध्यक्ष डा. बिश्वम्भर शर्मा एमालेका सल्लाहकार बिजय कुमार सरावगी, सुमन प्याकुरेल एकवाल मिया, अजय गुप्ता लगायतका नेहरुको सहभागिता रहेको थियो ।