काठमाडौं, भदौ २ । सरकारले ५ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले ५ जना एआईजीहरूको सरुवा गरेको हो ।
मन्त्रिपरिषदले काठमाडौं उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरेको छ भने प्रशासन विभागका एआईजी दीपक थापालाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।
यस्तै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका एआईजी टेकप्रसाद राईलाई मानवस्रोत विभाग सरुवा गरी मानवस्रोत विभागका एआईजी सन्दीप भण्डारीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान लगिएको छ । यसैगरी कार्यविभागकी एआईजी मीरा चौधरीलाई प्रशासन विभाग लगिएको छ । अरु तीन एआईजीहरू केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख किरण बज्राचार्य, प्रदेश समन्वय विभागका सुदीप गिरी र अपराध अनुसन्धान विभागका टेकबहादुर तामाङलाई भने यथावत राखिएको छ ।
पछिल्लो पटक भुटानी शरणार्थी प्रकरणमा आफूप्रतिकूल अनुसन्धानमा ज्ञवालीको भूमिकालाई लिएर सत्तारुढ दल कांग्रेसका नेताहरु असन्तुष्ट थिए । कांग्रेस सभापति शेरबहादुर देउवासमेत ज्ञवाली सरुवा गर्न चाहनुभएको थियो । उपत्यका प्रहरी कार्यालय प्रमुख ज्ञवाली, काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्की र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी डा. मनोज केसी भुटानी शरणार्थी प्रकरणको समग्र अनुसन्धान प्रक्रियामा सामेल प्रहरी अधिकारी हुनुहुन्छ । पछिल्लो पटक यसै प्रकरणमा थप उजुरी परेपछि दोस्रो चरणको अनुसन्धान प्रक्रियासमेत अगाडि बढेको छ ।
ज्ञवाली, कार्की र केसीकै टिमले गरेको अनुसन्धानमा पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाण, पूर्वउपप्रधानमन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीसहितका उच्च पदस्थ अधिकारी तानिनुभएको थियो । उहाँहरू हाल पुर्पक्षका लागि कारागारमा रहनुभएको छ ।
अनुसन्धानकै क्रममा कांग्रेस सभापति देउवापत्नी एवं सांसद आरजु राणा देउवा र खाणपत्नी मञ्जु खाणसमेत शंकाको घेरामा पर्नुभएको छ । यो अनुसन्धानसमेत अगाडि बढ्नेप्रति सत्ता गठबन्धनका नेताहरूबीच पटक–पटक छलफल भएको छ । सोही कारण ज्ञवालीलाई सरुवा गरिएको बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्