जनता टाइम्स

४ भाद्र २०८०, सोमबार १७:१५

शेरबहादुर रिसाउँदा हच्किए गृहमन्त्री, के गठबन्धनमा खटपट बढेकै हो ?


काठमाडौं, ४ भदौ । संसद अवरोधका विषयमा छलफल गर्न आज ( सोमबार) पनि सर्वदलीय बस्दैछ तर सामाजिक सञ्जालदेखि अनलाइनसम्म आइतबारकै बैठकले चर्चा पाएको छ । प्राय ः सौम्य र शान्त रहनुहुने कांग्रेस सभापति शेरबहादुर देउवाले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई लक्षित गर्दै रोद्ररूप देखाएको कुरा ।

बैठकमा देउवा आक्रामकरूपमा प्रस्तुत भएको बताइएको छ । देउवाको आक्रामक रूप देखेर कतिपयले गठबन्धनको भविश्य धेरै नरहेको अडकलवाजी गरेका छन् । देउवाले बालकृष्ण खाँढ र टोपबहादुरलाई पक्राउ गर्नेले आफ्नै पार्टीका नेता कृष्णबहादुर महरा र उनका छोरालाई किन पक्राउ नगरेको भनेर गृहमन्त्री श्रेष्ठलाई प्रश्न गर्नुभएको थियो । बैठकमा देउवाले गृहमन्त्रीलाई सुन तस्करीको जिम्मा लिन आग्रह गर्दै भन्नुभयो ‘ तपाईँ (गृहमन्त्री) को जानकारी बेगर आउँछ त्यो सामान ?

देउवाको भनाइ उदृत गर्दै बैठकका एक सहभागीले भन्नुभयो, ‘ यसमा तपाईँले नैतिकरूपमा जिम्मा लिनुपर्छ, आवश्यक परे छानबिन आयोग बनाउँदा के पर्छ गरौं । बालकृष्ण खाणहरूलाई टर्चर दिएको कुरा छ । विभिन्न व्यक्तिलाई रानीपोखरीमा लगेर टर्चर दिएर फलाना व्यक्तिको नाम लिन भनिएको छ । यस्तो पनि हुन्छ ?’

रानीपोखरीस्थित उपत्यका प्रहरीको कार्यालयमा इन्द्रजीत राई, सानु भण्डारी, केशव दुलाललगायत नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका व्यक्तिलाई परिसर कार्यालयको हिरासतबाट ल्याएर एआईजी श्याम ज्ञवालीले अख्तियार प्रमुख प्रेम राई, आरजु राणालगायतको नाम पोल्न दबाब दिएको र त्यस क्रममा यातनासमेत दिइएको थियो ।

यहि विषय आइतबारको सर्वदलीय बैठकमा समेत देउवा र एमालेका प्रमुख सचेतक पदम गिरीले उठाएका थिए । गिरीले प्रहरीले मध्यराति २ बजे अभियुक्तहरूको बयान लिने क्रममा केही मान्छेलाई लक्षित गरेर नाम पोल्न दबाब दिएको अडिओ आफूसँग रहेको र आवश्यक परे सुनाउने चुनौती दिएपछि देउवा झनै आक्रामक बन्नुभएको थियो ।

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार सर्वदलीय बैठकमा गएका संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलाई बालकोटमा बोलाएर जानकारी लिनुभएको छ । उहाँले उच्चस्तरीय छानबिनको विकल्प नरहेको र सबै दल त्यसमा आउने बताउनुभएको छ ।