जनता टाइम्स

९ भाद्र २०८०, शनिबार १५:३५

सिरहामै तोकियो स्थगित एमाले सचिवालयको बैठक


लहान, ९ भदौं । मौसमका कारण स्थगित भएको नेकपा एमाले सचिवालय बैठक भदौं १३ बाट सुरु हुने भएको छ ।

आजदेखि चौथों महाधिवेसनस्थल, सिरहा हुने भनिएको सचिवालय बैठक अन्तिम समयमा हिजो मौसमका कारण स्थगित भएपछि नयाँ मितिको रुपमा भदौं १३ गते तय गरिएको हो । धनगढीमाई नगरपालिकास्थित सर्रे अम्बासमा हिजोदेखी बैठक सुरु हुदैँ थियो ।

तर, निरन्तर झरी परेपछि सो बैठक अन्तिम समयमा स्थगित गरिएको थियो । सिरहा एमालेका जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले १३ गतेदेखी सो बैठक सुचारु हुने बताउनुभयो । उहाँका अनुसार बैठक स्थलसम्म पुग्नलाई बीचमा खोला परेको तर निरन्तर झरीका कारण खोलामा बाढी बढेको र तर्न नसकिने अवस्था देखिएपछि बैठक स्थगित गर्नु परेको हो ।

बैठक सोही स्थानमा नै बस्नेछ । सोही ठाउँमा सम्पन्न भएको तत्कालिन नेकपा मालेले चौथों महाधिवेसन सम्पन्न गरेको थियो, जहाँबाट मदन भण्डारी पार्टी नेतृत्वमा आउनुभएको थियो । मदन भण्डारीको नेतृत्व स्थापित भएको तथा जनताको बहुदलीय जनवादको पृष्ठभुमी तयार भएको सो स्थानमा यसपटक नेकपा एमालेले सचिवालय बैठक राख्ने निधो गरेको थियो । तर, मौसमका कारण अन्तिम समयमा स्थगित गर्नु परेको जनाईएको छ ।