जनता टाइम्स

२२ भाद्र २०७६, आईतवार १५:०६

बिपक्षीलाई अर्थमन्त्री खतिवडाको जवाफ : आफ्नै खुट्टामा आफै बञ्चरो हान्ने काम कोहीले पनि नगरौं


काठमाडौं, भदौं २२ । अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास बन्द गर्न चेतावनी दिनुभएको छ । जानाजान अर्थतन्त्रलाई बदनाम गराउन लागिपरेको भन्दै अर्थमन्त्री खतिवडाले त्यसो नगर्न सचेत गराउनु भएको हो ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १० औं वार्षिकोत्सवलाई आइतबार काठमाडौंमा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक हुँदाहुँदै पनि सरकारविरुद्ध भ्रम छर्न खोजिएको ठोकुवा गर्नुभयो ।‘अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक हुँदाहुँदै पनि सरकारविरुद्ध भ्रम छर्न खोजिएको छ, त्यसले कसैलाई पनि फाइदा गर्दैन,’ अर्थमन्त्री खतिवडाले भन्नुभयो । मुलुकको अर्थतन्त्रलाई कमजोर देखाएर आफ्नै खुट्टामा बञ्चरो हान्ने काम कसैले पनि गर्न नहुने उहाँको भनाई थियो ।

मुलुकमा लगानीको वातावरण नबनोस र हाम्रो पिठो फेरि बिकोस भन्ने प्रवृत्ति रहेछ । नेपाल सरकारले दिएको तथ्याङ्क सही छैन, यो ढाँटेको हो भन्ने, निजी क्षेत्रले प्रमाणिकरण गरेर दिएको तथ्याङ्क पनि शंकाको घेरामा राख्ने र त्यसका लागि लबिङ गर्ने प्रवृत्ति पनि देखिएको छ,’ अर्थमन्त्री खतिवडाले प्रश्न गर्नुभयो, ‘आफ्नै अर्थतन्त्र, आफ्नै मुलुकलाई कमजोर देखाउने परिपाटीले हामी एउटै डुङ्गामा सवार गर्ने को चाहिँ बचौँला ?’

अर्थमन्त्री खतिवडाले मुलुकलाई कमजोर देखाउने काम सैह्य नहुने पनि प्रष्ट पार्नुभयो । ‘हाम्रो आफ्नै खुट्टामा बञ्चरो हान्ने काम कोहीले पनि नगरौं,’ अर्थमन्त्री खतिवडाको भनाई थियो । अर्थमन्त्री खतिवडाले अर्थतन्त्रका सबै परिसूचक सकारात्मक ढंगले अघि बढेको सरकारको तथ्यांक नै सही रहेको बताउनु भयो ।

‘अर्थतन्त्रका सबै परिसूचक सकारात्मक ढंगले अघि बढेको सरकारको तथ्यांक नै सही हो, तर त्यसलाई असत्य भनेर अन्तराष्ट्रिय दाताहरुलाई भ्रम छर्ने काम भइरहेको छ, यो बन्द हुनुपर्छ,’ अर्थमन्त्री खतिवडाको भनाई थियो । अर्थमन्त्री खतिवडाले पूँजी बजारको नियमन राम्रोसँग गर्न नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्डलगायतका निकायलाई पनि निर्देशनसमेत दिनुभयो । सरकारले उत्पादनमा जोड दिएर पूँजी बजारको विकासलाई उच्च प्राथमिकता दिएको भन्दै उहाँले सो निर्देशन दिनुभएको हो ।

अर्थमन्त्री खतिवडाले मुलुकको आर्थिक विकासका लागि उत्पादनमा बढावा दिन सरकारले लगानीको क्षेत्रको पहिचान गरिरहेको जानकारीसमेत दिनुभयो ।