काठमाडौं, भदौ १४ । पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेसँगै सुन तस्करीमा सत्तारुढ दलका शीर्ष नेता सामेल रहेको तथ्य उजागर भएको छ । प्रहरीले सुन तस्करी प्रकरणमा बुधवार महरापुत्र राहुललाई पक्राउ गरी हिरासतमा राखेर अनुसन्धानका लागि ५ दिनको म्याद लिएको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले संगठित अपराधमा समेत अनुसन्धान गर्ने गरी काम अघि बढाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख महरा र उहाँका छोरा राहुलको कनेक्शन सुन तस्करसँग रहेको लामो तथ्य फेला परेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीको मिलेमतोमा सुन हराएको सन्दर्भमा महरा र उहाँका छोरा राहुल प्रत्यक्ष संलग्न रहेको पाइएको हो । ई–सिगरेट (विद्युतीय चुरोट) भित्र लुकाएर तस्करी गर्न लागिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रैबाट चोरी भएको घटनामा भन्सार कर्मचारीका साथै महराका बाबुछोरा नै संलग्न रहेको तथ्य फेला परेको हो ।
सिआइबीले अनुसन्धान गरी सरकारी वकिलको कार्यालयमा बुझाएको प्रतिवेदनअनुसार महरा बाबुछोराले भन्सार विभागका कर्मचारीलाई पटकपटक फोन गरेर भन्सार कार्यालयमा रहेको ई–सिगरेट लिलामी गर्न दबाब दिनुभएको थियो । सिआइबीले अनुसन्धान सकाएर सरकारी वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनमा महराका बाबुछोरा र सुन आयातकर्ता चिनियाँ नागरिक एवं अरू सम्पर्क सूत्रको टेलिफोन नम्बरसहित उल्लेख गरेको छ ।
प्रतिवेदनमा उल्लेख भएअनुसार पूर्वसभामुख महरा र छोरा राहुल महरा सुन ल्याउने समूहसँग निरन्तर सम्पर्कमा रहेको पाइएको छ । महरा बाबुछोराले भन्सारका कर्मचारीलाई फोन गरेर त्यहाँका सामान आफ्नो व्यापारिक साथीको भएको र त्यसलाई लिलामीमा राखिदिन आग्रह गर्नुभएको थियो । प्रहरीले अनुसन्धानका क्रममा कल डिटेल (सिडिआर) बाट महरा बाबुछोराको कनेक्सन पत्ता लगाएको हो । प्रहरीले सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाएको प्रतिवेदनमा उहाँहरूको मोबाइल नम्बर नै उल्लेख गरिएको छ ।

भन्सारमा रहेको ई–सिगरेट सुन ल्याउने समूहमा चिनियाँ नागरिक लुई, वाङ दाओजिङ, लोकेन्द्र पौडेल, खुवाप्रसाद न्यौपाने, राहुल महरालगायतले सम्पर्कसूत्रको काम गरेको अनुसन्धानले देखाएको छ । २०७९ पुस १० गते फ्लाई दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आएका एक चिनियाँ यात्रु ली हानसोङले लगेजमा राखी इलेक्ट्रिक सिगरेट (भेप) भित्र ठुलो मात्रामा सुन लुकाएर ल्याएका थिए । त्यतिबेला भन्सार विभागले ई–सिगरेट बरामद गरेर यात्रुलाई छाडेको थियो । यात्रु छाडेपछि ती चिनियाँ नागरिकले विभिन्न व्यक्तिलाई प्रयोग गरेर महरा बाबुछोराको सम्पर्कमा पुगेका थिए ।
भन्सारका नायब सुब्बा रेवन्त खड्का, भन्सार एजेन्ट दिनेश बस्नेत र गार्डसमेत मिलेर ई–सिगरेटमा भएको सुन निकाली करिब ९ करोड मूल्य पर्ने सुन करिब ६ करोड रूपैयाँमा बिक्री गरेका थिए । पुस १० मा सुन लिएर दुबई हुँदै आउने चिनियाँ नागरिक सात पटकसम्म नेपाल आएको र त्यसरी नै तस्करीमा संलग्न भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
सुन बेच्ने योजनाकार भन्सार एजेन्ट दिनेश बस्नेत रहेको प्रहरी प्रतिवेदनमा देखिएको छ । सिआइबीले बुझाएको प्रतिवेदनअनुसार विमानस्थलस्थित भन्सार कार्यालयका नायब सुब्बा खड्कासँग मिलेर बस्नेतले नौ किलो सुन चोरी गरी बिक्री गरेका थिए। तर त्यो सुन गायब पार्नुअघि नै उनीहरूले महरा बाबुछोराको सोर्स लगाएर लिलामीमार्फत फिर्ता लैजाने कोसिस गरेका थिए ।
भन्सार विभागमा त्यो वस्तु शंकास्पद रहेपछि २०७९ माघ २९ गते प्रहरीले मुचुल्का गरी अनुसन्धानका लागि सिआइबीलाई पठाएको थियो। सिआइबीले अनुसन्धानका लागि पाउँदा दुईवटा सुटकेसभित्र ७३ वटा बट्टामा ७३० थान इलेक्ट्रिक सिगरेट रहेका थिए । आगो नसल्किने उक्त सिगरेटलाई गैरकानुनी ठहर गर्दै भन्सार कार्यालयले जफत गरेको छ ।
प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनमा रेवन्त खड्का, दिनेश बस्नेत, निर्मल विक, दीपेश बस्नेत, गोपाल सुवेदीको सम्पर्क सुन खरिदकर्ता वेदप्रकाश अग्रवालसँग रहेको उल्लेख छ । सुन खरिद गर्ने समूहका अन्य सदस्यहरूमा गणेश बडू, साहेब राव मार्गेला, सचिन पावर, नन्दुकुमार रहेको उल्लेख गरिएको छ ।
यसअघि प्रधानमन्त्री दाहाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठको दवावमा उहाँहरुलाई प्रतिवादी नबनाई उन्मुक्ति दिइएको थियो । चर्काे दवाव परेपछि सिआइवीले महरापुत्र राहुललाई पक्राउ गरेको हो ।












प्रतिक्रिया दिनुहोस्