रुपन्देही, जेठ १६ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफू र उपाध्यक्ष विष्णु पौडेलबीच कुनै विवाद नरहेको प्रष्ट पार्नुभएको छ । बुटवलमा आजबाट सुरु भएको एमाले लुम्बिनी प्रदेशको अधिवेशनको उदघाटन समारोहलाइं संबोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो ।
एमालेभित्र विवाद देखाएर केही व्यक्ति रमाएको उल्लेख गर्दै महासचिव पोखरेलले एमालेलाई बलियो बनाउन उपाध्यक्ष विष्णु पौडेल र आफूबीच बलियो एकता रहेको प्रष्ट पार्नुभयो । पोखरेलले केही दिनयता केही मिडियामा आएका अनावश्यक टिप्पणीको कुनै अर्थ नभएको पनि बताउनु भयो ।
‘लुम्बिनीमा एमाले बलियो देखेर केही शक्तिले यस्तो प्रचार गरेका हुन, यसमा कुनै सत्यता छैन, एमाले बलियो बनाउन हामी दुईको एकतामा केही समस्या छैन, उनीहरूको अफवाह चिर्न हामीले लुम्बिनीबाट सन्देश दिनेछौँ, आम कार्यकर्तामा यो मेरो प्रतिबद्धता हो,’ महासचिव पोखरेलले भन्नुभयो ।
उहाँले एमालेमा बिवाद देखाएर बिरोधीहरुले खेल्न खोजेको भन्दै त्यो संभव नभएको बताउनु भयो । ‘एमालेभित्रको विवाद देखाएर केही दलका व्यक्तिहरू र केही मिडियाका व्यक्तिहरू खेल्न खोजेका छन्, एमाले एक बनाउन विष्णु पौडेल र शंकर पोखरेलको एकता कहिले टुट्न दिने छैनौँ,’ महासचिव पोखरेलले भन्नुभयो ।
केही दिनअघि माओवादी अध्यक्ष प्रचण्डले सुर्खेतमा एमालेभित्र ठूलो पहिरो जाने बताएको प्रसंग उल्लेख गर्दै पोखरेलले अब एमालेमा होइन, माओवादी केन्द्रमा ठूलो पहिरो जाने समय आएको बताउनु भयो । उहाँले थप्नुभयो, ‘ अब एमालेमा होइन, माओवादी केन्द्रमा ठूलो पहिरो जाने समय आएको छ ।’ उहाँले अब देशमा माओवादीजस्ता कम्युनिष्ट पार्टीहरू आवश्यक नभएकाले पहिरो एमालेमा होइन माओवादीमा जान थालेको बताउनु भएको हो ।
देशमा अब धेरै पार्टी आवश्यक नभएको र देशको सम्वृद्धिका लागि माओवादीसहित अन्य दलमा रहेका व्यक्तिहरू धमाधम एमालेमा आइरहेको पोखरेलले बताउनु भयो । एमालेविरुद्ध सत्तारुढ दलको गठबन्धनले दुनियाँलाई आश्चर्यमा पारेको पनि उहाँले बताउनु भयो । पार्टीभित्रको लोकतन्त्रमा एमाले सबैभन्दा अगाडि रहेको ठोकुवा पनि उहाँले गर्नुभयो ।
‘माओवादीभन्दा धेरै प्रजातान्त्रिक कांग्रेस पार्टी रहेको छ, माओवादी अध्यक्ष प्रचण्डले कति समय पार्टीको नेतृत्व गरेका छन भन्ने विषय दुनियाँलाई अवगत छ, त्यो भन्दा धेरै अगाडि कांग्रेस छ, एमालेमा त हरेक समयमा नेतृत्व फरक नेताहरूले गरिरहनु भएको छ,’ महासचिव पोखरेलले भन्नुभयो ।
उहाँले आगामी निर्वाचन पनि अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा जाने घोषणा पनि गर्नुभयो । ‘मिसन ०८४ को नेतृत्व पार्टी अध्यक्ष केपी ओलीले गर्नुहुनेछ,’ महासचिव पोखरेलले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्