काठमाडौं, भदौ १७ । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान सरकार व्यवसायीमैत्री नभएको बताउनुभएको छ ।
नेपाल उद्योग तथा व्यवसायी महासंघले आयोजना गरेको अर्थतन्त्रमा देखिएको समस्या चुनौतीको विषयमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष पाण्डेले सरकारले व्यवसायीहरूको समस्या बुझ्नै नसकेको बताउनुभयो ।
पूर्वअर्थमन्त्री समेत रहनुभएका पाण्डेले देशको उद्योग तथा व्यवसाय क्षेत्र समस्यामा रहेको बताउनुभयो । उद्योग क्षेत्रमा देखिएका समस्या समाधानको काममा तत्काल लाग्न उहाँले सरकारलाई आग्रह गर्नुभयो ।
बजेटमा खर्च गर्ने लक्ष नै घटेको अवस्थामा कार्यान्वयनमा जाँदा त्यो पनि लक्ष अनुसार प्रगति नहुने अवस्थामा रहेको पाण्डेले बताउनुभयो । यसले देश गम्भीर संकटमा पर्ने र विकासका काम ठप्प हुने पाण्डेको भनाइ छ । सरकारले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजको मारमा परेका व्यवसायीको समस्या बुझ्न नसकेको उहाँले बताउनुभयो । ‘सरकारले व्यवसायी क्षेत्रको समस्या बुझेन’, पाण्डेले भन्नुभयो ।
भाटभटेनी संचालक मीनबहादुर गुरुङलाई पक्राउ गरेर सरकारले व्यवसायीलाई तर्साउने काम गरेको उहाँले बताउनुभयो । २८ ओटा भाटभाटेनी सञ्चालक गुरुङ कहीँ भाग्ने अवस्था नभएको भए पनि सरकारले व्यवसायीलाई तर्साउनको लागि उहाँलाई गिरफ्तार गरेको बताउनुभयो ।
भारतले चामलमा लगाएको कर र नेपालमा बढेको ग्यास र पेट्रोलिय पदार्थको मूल्यले ५० प्रतिशत मूल्यवृद्धि हुने उहाँले बताउनुभयो । ‘ आउने वर्षमा साढे ६ प्रतिशत मूल्यवृद्धिमा बस्न सक्छु म भनेर सरकारले भनेको छ, साढे ६ प्रतिशत होइन १० प्रतिशत माथि जाने त त्यसै देखियो’, उहाँले भन्नुभयो ।
यो वर्ष खाद्यान्नको अभाव पनि पनि हुने र उद्योग व्यवसाय पनि समस्यामा पर्ने हुँदो देश गम्भीर संकटमा जाने उहाँले चेतावनी दिनुभयो । सरकारले गरेको काममा कुनै पनि सकारात्मक क्षेत्र नरहेको उहाँले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्