जनता टाइम्स

१९ भाद्र २०८०, मंगलवार १४:५८

६० किलो सुन प्रकरणमा सिआइवीले लियो पूर्वउपराष्ट्रपतिका छोरा दिपेश पुनसँग बयान


काठमाडौं, भदौ १९ । बिमानस्थलबाट भएको सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनका छोरा दिपेश पुनलाई प्रहरीले बयान लिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पुनलाई बयान लिएको हो ।

महाराजगञ्जस्थित ब्यूरोमा पुगेर पुनले बयान दिएको प्रहरी उच्च स्रोतले बताएको छ । ६० किलो सुन तस्करी प्रकरणमा छानबिनका दायरामा आएका व्यक्तिहरुसँग उठवस देखिएपछि पुनको सीआईबीले बयान लिएको हो ।

गत साउन ३ गते राजश्व अनुसन्धान विभागले सुन लुकाएर ल्याइएको १५५ किलो ब्रेक प्याड बरामद गरेको थियो । १९ दिनपछि यसको अनुसन्धानको सम्पूर्ण जिम्मा सीआईबीले पाएको थियो । त्यसक्रममा यसमा संलग्न ६ विदेशी नागरिकसहित २५ जना पक्राउ परिसकेका छन् ।

यसमा पक्राउ परेका बेल्जियन नागरिक दावा छिरिङको माओवादी नेताहरुसँग सम्पर्क देखिएको छ । उहाँले रोल्पाकी माओवादी नेतृ अमला रोकासँग विवाह गरेका छन् । ६० सुनसँग सम्बन्ध देखिएको भेपमार्फत तस्करी भएको ९ किलो सुन प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा अहिले प्रहरी हिरासतमा छन् ।