काठमाडौं, भदौ २० । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनका भाई तस्करीको सुन प्रशोधन गर्ने कम्पनीको साझेदार रहेको तथ्य खुलेको छ ।
बिमानस्थलबाट भएको ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानको क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले यस्तो तथ्य फेला पारेको हो ।
६० किलो सुन तस्करी प्रकरणमा साउन १४ गते पक्राउ परेका तिब्बती मुलका बेल्जियन नागरिक दावा छिरिङकी पत्नीसँगै पुनका भाई साझेदार रहेको पाइएको हो । दावा हाल सीआईबीको हिरासतमा छन् । उनीमाथि नेपालमा हुने सुन तस्करीको मुख्य व्यवस्थापकको आरोपमा अनुसन्धान भइरहेको छ । तेस्रो मुलुकबाट विभिन्न वस्तुमा लुकाएर आयात हुने तस्करीको सुन पगाल्न दावाको श्रीमती अमला रोकाको नाममा रहेको सामाखुसीको ‘भियाना मल्टीप्रपोज ग्रुप’ संलग्न रहेको प्रमाणका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले तस्करीको सुन प्रशोधन गर्न तस्करी समुहले पहुँचको आधारमा खानी विभागबाटै लाइसेन्स लिएको समेत पाइएको छ । तस्करी गरेको सुन प्रशोधन गर्ने उद्योग दावाकी पत्नी अमलासहितको हो । अमला सहित ४ जनाको नाममा रहेको कम्पनी ‘भियाना मल्टीप्रपोज ग्रुप प्राली’मा वर्षमान पुनका भाइ प्रनिश पुन मगरको ३० हजार कित्ता शेयर रहेको छ । यो कम्पनीले २०७७ सालमा खानी तथा भूगर्भ विभागबाट सुन उत्खनन् तथा प्रशोधनको लाइसेन्स लिएको छ ।
स्थापना भएको ३ वर्षपछि ‘भियाना मल्टीप्रपोज ग्रुप’ले खानी तथा भूगर्व विभागमा सुन उत्खनन् तथा प्रशोधन गर्न भन्दै लाईसेन्सको लागि निवेदन दिएको थियो । नेपालमा हालसम्म सुन खानी पहिचान नभएका कारण कम्पनीको लाइसेन्स माग आफैंमा अचम्म पार्ने खालको थियो । तर, राजनीतिक दवावमा अमलाको कम्पनीले २०७७ माघ २९ मा सुन उत्खनन् र प्रशोधनका लागि विभागबाट लाइसेन्स पायो ।
भूगर्भ विभागका अधिकारीहरुका अनुसार रोल्पाको सुनछहारीमा २९ किलोमिटर क्षेत्रफलमा सुन उत्खनन् गर्न भन्दै कम्पनीले लाइसेन्स लिएको थियो । ‘भियाना मल्टीप्रपोज ग्रुप’को सुन उत्खनन् र प्रशोधन लाईसेन्स नम्बर ६५–०७७–०७८ हो । कम्पनीको ५ वर्षे लाईसेन्स को समयवधी २०८१ माघ २८ मा सम्म छ ।
सो कम्पनीले नेपालमा तस्करीको सुन पगाल्ने र त्यसलाई किलोको आकार दिने काम गरिहेको सीआईबी स्रोतले बताएको छ । अनुसन्धानमा संलगन अधिकारीहरुका अनुसार राजश्व अनुसन्धान विभागले फेला पारेको बालुवाटार, लाजिम्पाट, सोह्रखुट्टे र टोखाको सुन गोदाम र सुन पगाल्ने कारखानासँग भियाना मल्टीप्रपोज ग्रुप प्रत्यक्ष रुपमा संलग्न रहेको छ ।
२०७४ साल मंसिर ५ गते स्थापना भएको ३ करोड मूल्य बराबरको ‘भियाना मल्टीप्रपोज ग्रुप’मा वर्षमान पुनका भाई प्रनिश पुन मगरको ३० लाख रुपैयाँको ३० हजार कित्ता शेयर छ । काठमाडौं महानगरपालिका २९ सामाखुसीमा रहेको कम्पनीमा अमला रोक्का, दीपक बुढा, सिशम मगर र प्रनिश पुन मगर शेयर होल्डर छन् ।
जसमा सुन तस्करीका नाइके दावा छिरिङकी पत्नी अमला रोकाको सबै भन्दा धेरै २ करोड २५ लाख मूल्य बराबरको २ लाख २५ हजार कित्ता शेयर छ । अमलाका भाई दीपक बुढाको नाममा ४२ लाख ५० हजार मूल्य बराबरको ४२ हजार ५ सय कित्ता शेयर छ । यस्तै रोल्पाकै सिशम रोका मगरको नाममा २ लाख ५० हजार मूल्य बराबरको २५ सय कित्ता शेयर छ । यो कम्पनीको शेयर लगत २०८० बैशाख १९ गते अध्यावधिक गरिएको छ ।













प्रतिक्रिया दिनुहोस्