जनता टाइम्स

२१ भाद्र २०८०, बिहीबार १९:५०

अदालतको फैसलालगत्तै हिक्मत कार्कीले राखे कांग्रेससहित सवै दलसँग सहकार्यको प्रस्ताव


काठमाडौं, भदौ २१ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले सर्वाेच्च अदालतको आजको फैसला स्वागतयोग्य भएको भन्दै खुशी व्यक्त गर्नुभएको छ । अदालतको फैसलापछि संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताउनु भएको हो ।

यो फैसला स्वागतयोग्य छ, राजनीति दलहरुले कहिलेकाहीँ गर्ने जानेर वा नजानेर संविधान,कानुनलाई मिच्ने काम गरेका हुन्छन् । त्यसलाई सबक हुनेगरी आएको छ । म त्यसलाई स्वागत र सम्मान पनि गर्छु,’ नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहनु भएका मुख्यमन्त्री कार्कीले भन्नुभयो । उहाँले फैसलाको आधारमा सहकार्य गरी अघि बढन कांग्रेसलाई आग्रह पनि गर्नुभएको छ ।

‘यस्को आधारमा सबैभन्दा ठूलो राजनीति दल नेपाली कांग्रेससँगै मुलुकका सबै राजनीतिक दललाई कोशी प्रदेश र अन्य ठाउँमा पनि मिलेर अघि बढ्न आग्रह गर्दछु । अदालतको आजको निर्णयले हामीलाई पाठ पनि भएको छ । हामीले बेलाबेलामा सहकार्य र राजनीति निर्णयका आधारमा संविधान मिच्नुहुन्न, नियम मिच्नुहुन्न भन्ने पनि सन्देश दिएको छ,’ कार्कीले भन्नुभयो । सर्वाेच्चको आजको फैसलासँगै कोशीमा कार्की मुख्यमन्त्री कायम हुनुभएको छ भने उद्धव थापा पदमुक्त हुनुभएको छ ।