जनता टाइम्स

२४ भाद्र २०८०, आईतवार ११:१९

कोशीको बजेट शून्यता हट्यो, प्रदेश प्रमुखद्वारा दुई अध्यादेश जारी


बिराटनगर, भदौ २४ । कोशीमा पुनः बजेट सम्बन्धी अध्यादेश आइतबार जारी गरिएको छ । अध्यादेश जारीसँगै प्रदेशमा भदौ ११ गतेदेखिको बजेट शून्यता अन्त्य भएको छ ।

प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा २०२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश आर्थिक अध्यादेश २०८० र प्रदेश विनियोजन अध्यादेश २०८० जारी गरेको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव नरेन्द्र श्रेष्ठले बताउनुभयो ।

सर्वोच्च अदालतको परमादेशले मुख्यमन्त्री नियुक्त भएको कार्की नेतृत्वको सरकारको मन्त्रिपरिषद्को पहिलो बैठकले बजेट सम्बन्धी अर्को अध्यादेश ल्याउन प्रदेश प्रमुख पर्शुराम खापुङ्समक्ष शनिबार सिफारिस गरेको थियो । यसअघि कार्की नेतृत्वको सरकारले जेठ ३२ गते चालू आर्थिक वर्षका लागि बजेट सम्बन्धी अध्यादेश ल्याएको थियो ।

उक्त अध्यादेशको प्रतिस्थापन विधेयक निवर्तमान मुख्यमन्त्री उद्धव थापाले ल्याउन नसकेपछि भदौ ११ गतेदेखि प्रदेश बजेट शून्यतामा गएको थियो । यसअघि ल्याएको बजेटमा कुनै फेरबदल नगरी जस्ताको त्यस्तै ल्याइएको आर्थिक मामिला तथा योजन मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री कार्कीले बताउनुभयो ।