जाजरकोट, २४ भदौ । नेकपा (एमाले) जाजरकोटले पार्टी केन्द्रको निर्णय अनुसार आगामी मंसिरमा सञ्चालन हुने मध्यपहाडी लोकमार्ग पदयात्राका अवसरमा खुला आमसभाको आयोजना गर्ने भएको छ । मध्यपहाडी लोकमार्गको सुरुआत बैतडीको ‘झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ पदयात्रा’ अभियानका क्रममा पदयात्रा टोली जाजरकोट पुगेको दिन थलामा वृहत् आमसभाको आयोजना गर्ने भएको हो ।
‘पदयात्रामा पार्टी केन्द्रीय नेतृत्वसहित लाखौंको संख्यामा नेता कार्यकर्ता आउने भएपछि जाजारकोट जिल्ला कमिटीको आयोजनामा मध्यपहाडी लोकमार्गको थलामा आमसभाको आयोजना गरिने छ’ केन्द्रीय सदस्य डम्बरबहादुर सिंहले भन्नुभयो, ‘आमसभामा जिल्ला सबै स्थानीय तहबाट सहभागी हुन आउने सर्वसाधारण र नेता कार्यकर्ताको व्यवस्थापन सम्बन्धित पालिका कमिटीको जिम्मा दिइने छ ।’
२०७४ साल फागुनमा मेची–महाकाली अभियान सञ्चालन गरेको एमालेले मध्यपहाडी लोकमार्गका जनतालाई हातोमालो गर्न मंसिर दोस्रो साता पदयात्रा अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
चार पालिका कमिटीद्वारा कार्य योजना निर्माण
एमाले जाजरकोटले आफ्ना गाउँपालिका स्तरीय वार्षिक कार्य योजना निर्माण गरेका छन् । एमाले केन्द्रीय कमिटीमा प्रतिनिधित्व गर्ने कर्णालीका केन्द्रीय सदस्यहरुको दुई दिने बैठक पश्चात् एमाले जाजरकोटले जिल्लाका चार वटा गाउँपालिका स्तरीय कार्य योजना सम्पन्न गरेको हो ।
एमाले केन्द्रीय कमिटीको अन्तरपार्टी निर्देशनले आगामी चैतसम्म प्रदेश, जिल्ला, गाउँपालिका र वडाका अधिवेशन गर्ने निर्देशन अनुसार चैतसम्मको कार्य योजना निर्माण गर्दै जिल्लाका चारवटा स्थानीय तहको योजना तर्जुमा बैठक सम्पन्न भएको एमाले केन्द्रीय सदस्य सिंहले बताउनुभयो ।
‘पार्टीको केन्द्रीय नीति अनुसार शिवालय गाउँपालिकाको भदौ १७ गते, छेडागाड नगरपालिकाको १८ गते जुनिचाँदे गाउँपालिकाको २१ गते, कुशे गाउँपालिकाको २३ गते पालिका स्तरीय योजना तर्जुमा बैठक सम्पन्न भएको छ’ केन्द्रीय सदस्य सिंहले भन्नुभएको छ, ‘बैठकले गाउँकमिटीका एक वर्षे वार्षिक कार्य योजना निर्माण गर्ने, वडादेखि पालिका स्तरका अधिवेशनको मिति तोक्ने काम गरेको छ ।’
पार्टीका जिल्ला अध्यक्ष खिमबहादुर शाही, प्रदेश कमिटी सदस्य नरबहादुर खत्री जिल्ला कमिटी उप–सचिव गोपाल नेपालीलगायतका नेताहरुको सहभागितामा गाउँपालिका कमिटी अध्यक्ष रंगनाथ योगीको अध्यक्षतामा शिवालय गाउँपालिका। गणेश थापाको अध्यक्षतामा छेडागाड गाउँपालिका, कृष्णबहादुर शाहको अध्यक्षतामा जुनिचाँदे र गाउँपालिका सचिव कवेन्द्र जैशीको अध्यक्षतामा कुशे गाउँपालिकाको बैठक सम्पन्न भएका छन् ।
असोजमा पालिका स्तरीय प्रशिक्षण
एमाले जाजरकोटले आगामी असोजमा जिल्लाका सबै स्थानीय तहमा दुई दिने प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ । राष्ट्रिय राजनीति, एमालेले लिएको नीति, सांगठनिक अवस्थाका बारेमा पार्टीका नेता तथा कार्यकर्तालाई जानकारी दिनका लागि पालिका स्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने निर्णय भएको केन्द्रीय सदस्य सिंहले जानकारी दिनुभयो ।
पालिका स्तरीय भेलामा पुग्नु भएका केन्द्रीय सदस्य सिंहका अनुसार शिवालयले असोजको १७ र १८ गते शिवालयमा, छेडागाडले १९ र २० गते, मनघाडमा जुनिचाँदेले २१ र २२ गते परालेमा र कुशे गाउँपालिकाले २४ र २५ गते भार्मामा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको आयोजना गर्ने भएको छ ।
प्रतिक्रिया दिनुहोस्