काठमाडौं, भदौ २६ । हृदयघातबाट गए राती निधन भएका संविधान सभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ घरभित्रकै शौचालयमा बेहोस अवस्थामा फेला पर्नुभएको परिवारका सदस्यले जनाएका छन । राती १ बजे शौचालयमा बेहोस अवस्थामा परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उहाँको मृत्यु भइसकेको थियो ।
एमाले उपाध्यक्ष नेम्वाङ बालुवाटारस्थित निवासमा हुनुहुन्थ्यो । परिवारका सदस्यहरुका अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिनुभएको थियो । उहाँलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा राति १ः५० बजेको थियो । त्रिवि शिक्षण अस्पतालको कागजपत्रमा नेम्वाङलाई १ः५० बजे अस्पताल ल्याइपुर्याएको उल्लेख छ ।
अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गरेका थिए । तर ती कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरेका थिए ।
अस्पतालका चिकित्सकहरुका अनुसार अस्पतालमा १ः५० बजे ल्याइपुर्याउँदा साइन्स अफ लाइफ भन्ने केही पनि थिएन । ईसीजी, सीपीआर गरेर मेडिसिन दिएर हेर्दा केही पनि नभएपछि कन्फर्म डेथ भन्ने निष्कर्षमा पुगिएको थियो ।
नेम्वाङको निधनको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु अस्पताल पुग्नुभएको थियो । अहिले अस्पतालबाट नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । एमालेले भोलिसम्म पार्टी कार्यालयमा नै अन्तिम श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर राख्ने बताएको छ ।













प्रतिक्रिया दिनुहोस्