जनता टाइम्स

२९ भाद्र २०८०, शुक्रबार ०७:११

नेकपा एकीकृत समाजवादीमा पहिरो, एकैदिन दुई केन्द्रीय सदस्यले गरे पार्टी परित्याग


काठमाडौं, भदौ २९ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी छाडने क्रम फेरि बढेको छ । बिहिवार मात्रै दुई जना केन्द्रीय सदस्यले सो पार्टी त्यागेका छन । केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचिव राजु गुरुङ र सावित्री मल्लले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो ।

दुवै नेताले बिहिवार सामाजिक सञ्जालमै नेकपा एकीकृत समाजवादी छाडेको घोषणा गर्नुभएको छ । गुरुङले बिहीबार सामाजिक सञ्जाल फेसबुकमा ‘आजबाट स्वतन्त्र वामपन्थी । आहा ! क्या टाउको हलुङ्गो’ भनेर स्टाटस लेख्नुभएको छ ।

गुरुङ एमाले विभाजित भएर बनेको एकीकृत समाजवादीमा सुरुदेखि नै लाग्नुभएको थियो । उहाँ मंसिर ४ को संसदीय निर्वाचनमा रुपन्देही क्षेत्र नं २ मा गठबन्धनको तर्फबाट उम्मेदवारसमेत बन्नुभएको थियो । गुरुङ एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलसँग प्रतिस्पर्धामा जानुभएको थियो । तर, निर्वाचन आयोगले उहाँको उम्मेदवारी खारेज गरेको थियो ।

यस्तै केन्द्रीय सदस्य सावित्री मल्ल पनि सो पार्टी त्यागेको घोषणा गर्नुभएको छ । उहाँ नेकपा एमालेमा फर्कन लाग्नुभएको हो । नारायण नगरपालिकाको उपप्रमुख भएको समयमा नेकपा एस रोज्नुभएकी नेतृ मल्ल असोज १० गते सुर्खेतमा आयोजना हुने एमाले प्रथम प्रदेश अधिवेशनमा केपी ओलीको उपस्थितिमा एमाले फर्कन लाग्नुभएको हो ।

उहाँले बिहीवार सामाजिक सञ्जालमा नेकपा एस त्याग गरेको पोस्ट समेत गर्नुभएको छ – ‘राजनीति मा थकाइ भन्ने शब्द हुदैन तर आजका मिति देखि नेकपा (एकिकृत समाजबादी) पार्टी को सकृय राजनीतिबाट विश्राम लिने निर्णय गरियो ।’