जनता टाइम्स

७ आश्विन २०८०, आईतवार १७:५५

शहीद गुरु लुईंटेलको स्मृतिमा ओलीले संझिए माओवादीले ‘जनयुद्ध’मा दिइएको पीडा


ओखलढुंगा, असोज ७ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीले जनयुद्धको नाममा शिक्षाको ज्योति छर्ने शिक्षकहरूलाई समेत नछाडेका बताउनु भएको छ ।

ओखलढुंगाको रामपुरमा आज आयोजित सहिद गुरु लुइँटेल स्मृति पार्क उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गुरु लुइँटेल जस्ता शिक्षकलाई माओवादीले अपहरण गरी यातना दिएर हत्या गरेका बनाउनु भयो ।

‘समाजको एउटा आदर्श व्यक्ति, शिक्षाको ज्योति फैलाउँदै हिँड्ने व्यक्ति, जीवन कसरी बिताउने भन्ने सचेतनाको दियो बाल्दै हिँड्ने व्यक्ति, त्यस्तो व्यक्तिलाई अपहरण गरेर, विभिन्न ठाउँमा यातनापूर्ण ढङ्गले घुमाएर हत्या गरे, आजकै दिन यहीँ तल बरको हाँगामा उहाँको शव फेला पर्यो,’ अध्यक्ष ओलीले भन्नुभयो ।

माओवादी कार्यकर्ताले २० वर्षअघि जनयुद्धको नाममा अपहरणपछि यातना दिएर शिक्षक लुइँटेलको हत्या गरेका थिए । उहाँको स्मृतिमा ओखलढुंगाको रामपुरमा सालिकसहित स्मृति पार्क निर्माण गरिएको छ । ओलीले माओवादी शान्ति प्रक्रियामा आएपछि पनि छवि कार्की जस्ता नेताहरूलाई कुटी कुटी सबै हाड भाँचेर यातना दिई मारेका बताउनु भयो । माओवादी शान्ति प्रक्रियामा आयो, हतियार बिसायो भनेको बेला उहाँको हत्या गरिएको स्मरण पनि उहाँले गर्नुभयो ।

माओवादीले लोकतन्त्रप्रति आस्थावान थुप्रै व्यक्तिको हत्या गरेको ओलीले स्मरण गर्नुभयो । ‘मार्ने कोही पञ्चायत छन, कोही माओवादी छन, कोही प्रतिगामी छन, यथास्थितिवादी छन, कोही अग्रगमनका नाममा, क्रान्तिका नाममा देशलाई धुलो पार्नेहरू छन्, परिणाम एउटै छ, काम एउटै छ,’ ओलीले भन्नुभयो ।

आफूले पञ्चायत र राजाको कदमको डटेर विरोध गरेको बताउँदै ओलीले माओवादीको आतङ्क जति बेला मच्चिएको थियो त्यति बेला पनि माओवादीका गलत क्रियाकलापको आलोचना गरिरहेको बताउनुभयो । माओवादीलाई आफूले सप्रिन बारम्बार आग्रह गरेको ओलीको भनाई थियो । ‘पहिले पहिले उनीहरूले एकलौटी मार्ने गरे, पछि उनीहरूलाई पनि राज्यले मार्न लाग्यो, यसरी दोहोरो भिडन्तमा देशका १७ हजार मानिसको ज्यान गयो’, ओलीले भन्नुभयो ।

बिसं २०३५ साल माघ २६ गते आफ्नै आँखा अगाडि क्याप्टेन यज्ञबहादुर थापालगायत कांग्रेस नेतालाई पञ्चायतले जेलबाट निकालेर गोली हानी हत्या गरेको संझना पनि ओलीले गर्नुभयो । कांग्रेसको सरकार बन्दा पनि उहाँहरू लगायतलाई सहिद घोषणा नगरेको बताउँदै ओलीले आफू प्रधानमन्त्री भएपछि उहाँहरूलाई सहिद घोषणा गरेको बताउनुभयो ।