झापा, असोज १० । चुनावपछि गाउँ फर्किने अभियान ‘जन जनमा माओवादी, घरघरमा माओवादी’ चलिरहेका बेला झापाको बिर्तामोडमा भने ठूलो संख्यामा नेता तथा कार्यकर्ताले सो पार्टी परित्याग गर्नुभएको छ । माओवादी केन्द्रका कोशी प्रदेश सदस्य बासु दुलाल र वाईसीएल नगर संयोजक सुदिव खवासले बुधबार पार्टी परित्याग गर्नुभएको हो ।
पार्टीभित्रको अराजकता, बिसंगति र अराजनैतिक गतिविधिले पार्टी संगठन भद्रगोल भएको र नेतृत्वको जीवनशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै उहाँहरूले पार्टी छाड्नुभएको हो । माओवादी केन्द्रमा समाजवादसम्म पुग्ने स्पष्ट र वैज्ञानिक दृस्टिकोण, नीति तथा कार्यक्रम नभएको तथा सत्ता केन्द्रित राजनीतिले कार्यकर्ता र जनतामा चरम निराशा उत्पन्न गराएको उहाँहरूले बताउनुभएको छ । गैरकम्युनिस्टबाहेकका पार्टीहरूबीच तत्काल एकता कायम गरी समाजवादी कम्युनिस्ट केन्द्र निर्माण गर्न जनस्तरबाट दबाब दिन पार्टीबाट राजीनामा दिएको उहाँहरूले बताउनुभएको छ ।
यसअघि शनिबार पनि ७१ जनाले पार्टी परित्याग गरेका थिए । माओवादी आन्दोलनमा आफूहरू लामो समयदेखि क्रियाशिल रहेको भए पनि पार्टी सवाजवादी बाटोमा नहिडेकाले पार्टी छाडेको उनीहरूको भनाइ छ । पार्टी परित्याग गर्नेमा जिल्ला कमिटी सदस्य प्रकाश भारती, बिर्तामोड–४ का पार्टीका वडाध्यक्ष गोपी अधिकारी, वडा सचिव शंकर गौतम, नगर सदस्य नन्दीकेशर पोखरेल, झलक राजवंशी, वडा नम्बर १ उपाध्यक्ष कुमार काफ्लेलगायत ७१ नेता तथा कार्यकर्ता हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्