जनता टाइम्स

१२ आश्विन २०८०, शुक्रबार १०:११

आईमएई ग्रुपले चिनियाँ कम्पनीसँगको सहकार्यमा डिज्नील्याण्ड बनाउने, १० अर्बको लगानी


काठमाडौं, असोज १२ । आईएमई ग्रुपले चीनको चाइना सीएएमसी इन्जिनियरिङ (क्याम्के) सँगको प्राविधिक सहयोगमा ठूला पर्यटकीय गन्तव्य विकास गर्ने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा चीनको सांघाइ डिज्नील्यान्डजस्तै थिम पार्क बनाउने गरी दुई कम्पनीबीच सम्झौता भएको छ । चीनको चाइना सीएएमसी इन्जिनियरिङ (क्याम्के) चाइना नेसनल मेसिनरी इन्डस्ट्री कर्पोरेसन (सिनोम्याक)को सब्सिडियरी हो । यसले इन्जिनियरिङको डिजाइन, निर्माण तथा कन्सल्टिङको काम गरेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम पनि यही कम्पनीले गरेको थियो, जुन निर्धारित मितिमै सम्पन्न भएको थियो । विश्वभरि नै उसले सयौं पूर्वाधार तथा उद्योगहरु निर्माणको काम गरेको छ । भ्रमण दलका सदस्यका रुपमा सहभागी हुनुभएका आईएमई समूहका अध्यक्ष चन्द्र ढकालका अनुसार नेपालमा विश्वस्तरका पर्यटकीय गन्तव्यहरु केबलबार, थिम पार्कलगायत तथा उद्योग, पूर्वाधार र सूचना प्रविधिका क्षेत्रमा पनि सहकार्य गर्ने गरी सम्झौता भएको छ ।

यो सम्झौताले दुई कम्पनीसँग रहेको अनुभव र विशेषज्ञता आदान प्रदानमार्फत परियोजनाको इन्जिनियरिङलगायत गतिविधि सञ्चालन गरिने ढकालले बताउनु भयो । ‘पहिलो चरणमा ठूलो आकारमा थिम पार्क बनाउने छौं, यो पार्क सांघाइ डिज्नील्याण्ड वा सिंगापुरको सान्तोसा आइल्यान्डजस्तै किसिमको हुनेछ,’ हस्ताक्षरपछि ढकालले भन्नुभयो ।

यो परियोजनामा प्राविधिक सहयोग चिनियाँ कम्पनीले गर्ने तथा लगानी आईएमसी समूहले गर्ने गरी सम्झौता भएको छ । थिम पार्क निर्माणको प्रारम्भिक काम सुरु भएको जानकारी पनि ढकालले दिनुभएको छ । उहाँका अनुसार थिम पार्क ठूलो क्षेत्रफल चाहिने हुनाले काठमाडौंभन्दा बाहिर निर्माण हुने छ । सम्भवतः चितवनमा निर्माण हुने ढकालको भनाई छ ।