काठमाडौं, असोज १२ । दोलखामा तस्करी भएको थप ३ किलो सुनसहित केशव तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय दोलखाको संयुक्त टोलीले तामाङलाई सुनसहित पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता नवराज अधिकारीका अनुसार शुक्रबार बरामद भएको ३ किलो सुन दुई दिनअघि बरामद भएको चार किलो सुनसँगै तस्करी भएको हो ।
अधिकारीका अनुसार दुवै सुन एउटै समूहको भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । पछिल्लो समय तस्कर भएको सुन विमानस्थलमा समातिन थालेपछि तस्करहरू नयाँ रुट बनाएर तस्करीमा सहभागी भइरहेका छन । चीनबाट तस्करी गरेर भित्र्याएको ७ किलो सुनमध्ये ३ किलो सुनसहित शुक्रबार दोलखाको जामुनेबाट केशव तामाङ पक्राउ परेका हुन ।
सिआईबीका अनुसार चार किलो सुन लुकाएको कोठा नजिकै अर्को कोठामा खानतलासी गर्दा थप ३ किलो सुन भेटिएको हो । दोलखाबाटै बिहीबार ४ किलो सुनसहित एकै गाउँका ५ जना पक्राउ परेका थिए । तस्करीको उक्त सुन चीनको सीमाबाट लामाबगर हुँदै भित्रिएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ। पक्राउ परेका आरोपीलाई संगठित अपराधमा अनुसन्धान गरिँदै छ ।
यही प्रकरणमा संलग्न भएको आरोपमा काठमाडौंको बौद्धबाट राज तामाङ पक्राउ परेका छन । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालयका प्रमुख सोमेन्द्र सिंह राठौरका अनुसार यसअघि पक्राउ परेका ५ जनाले दिएको बयानको आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।
यो समूहले ठूलो मात्रामा सुन तस्करी गरेको हुनसक्ने अनुमान प्रहरीको छ । पक्राउ परेकामध्ये एक जना नेपाली कांग्रेसको भातृ संगठन तरुन दलका बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरका अध्यक्ष हुन ।
प्रतिक्रिया दिनुहोस्