काठमाडौं, असोज १३ । नेकपा एमालेले सुन तस्करी प्रकरणमा सरकारले उच्चस्तरीय आयोग बनाउन आलटाल गरेको भन्दै संसदको नियमित काम कार्वाही अघि बढन नदिने चेतावनी दिएको छ । एमालेले संसद्लाई मुठभेटतर्फ नलैजान पनि सरकारलाई चेतावनी दिएको छ ।
एमाले सचेतक महेश बर्तौलाले असोज ५ गते नै आयोग बनाउनुपर्ने संसद्को सहमतिविपरीत सत्तारुढ दलहरु गएको भन्दै संसदको बैठकलाई द्वन्द्व र मुठभेटतर्फ धकेल्ने काम भएको बताउनु भयो ।
‘भोलि असोज १४ गते प्रतिनिधिसभाको बैठक बस्दै । तर सरकार संसद्को बैठकलाई द्वन्द्व र मुठभेट तर्फ धकेल्न चाहन्छ । मुलुकको समग्र राजनीतिलाई अविश्वास, धोका धडी र आपसी अन्तर्विरोध पथमा लैजाने चेष्टा गर्दै छ,’ बर्ताैलाले भन्नुभएको छ । उहाँले संसदले अनुमोदन गरेको सहमति सरकारले कार्यान्वयन गर्न नखोजेको भन्दै कडा आपत्ति जनाउनु भयो ।
सरकारले विभिन्न बहानाबाजी गर्दै प्रमुख प्रतिपक्षी दलमाथि भ्रम छर्न ‘दिउँसै रात पार्ने प्रपञ्च’ गरिरहेको पनि बर्ताैलाले बताउनु भयो । ‘असोज ५ पछि धेरै दिनहरू बितिसक्यो तर आयोग बनेन। सहमति प्रति सरकारले पुरै धोका दियो । अब यसको सावाँ र ब्याज सहितको समग्र हिसाबकिताब भोलि बस्ने संसद्को बैठकमा हुने नै छ,’ बर्ताैलाले भन्नुभएको छ ।
उहाँले सरकारले सुन तस्करको संरक्षण किन गरिरहेको छ भन्दै प्रश्न पनि सोध्नुभएको छ । पूर्वसहमति अनुसार सुन तस्करी प्रकरणको छानबिनका लागि सरकारले आयोग गठन नगरेपछि एमालेका सचेतक बर्तौलाले आइतबारको संसद बैठकमा सावाँ र ब्याजसहितको समग्र हिसाबकिताब हुने चेतावनी पनि दिनुभएको छ । सहमतिप्रति सरकारले पूरै धोका दिएको उहाँको भनाई छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ न्युयोर्क र चीन भ्रमणमा जाने भएपश्चात प्रतिनिधि सभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको थियो । दाहाल दुई साता लामो भ्रमणपछि आज स्वदेश फर्किनु भएको छ । यसअघि दलहरुबीच सुन तस्करी प्रकरणमा आयोग गठन गर्ने सहमति भएको थियो । सीर्आइबीले आफ्नो प्रतिवेदन बुझाइसकेपछि असोज ५ गते आयोग गठन गर्ने गरी भदौ ६ गते सहमति भएको हो ।
गत साउन २ गते हङकङबाट अवैधरुपमा ल्याईएको क्वीटल (जोख्दा ६० किलो ७१६ ग्राम) सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट पास भएपछि उक्त प्रकरणलाई लिएर गत साउन १० गतेदेखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लामो समय संसद् अवरोध गरेको थियो । संसदको गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलहरुबीच दुई बुँदे सहमति भएपछि सदन सुचारु भएको हो।
‘२०८० साल श्रावण २ गते विदेशबाट अवैध ढंगले पैठारी (तस्करी) गरिएको सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिर लगिरहेको अवस्थामा राजश्व अनुसन्धान विभागबाट पक्राउ परेको थियो। उक्त विषय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान, छानबिन गरिरहेको सर्वविदितै छ । केन्द्रीय अनुसन्धान ब्यूरोले निष्पक्ष अनुसन्धान, छानबिन गरी सुन तस्करीमा संलग्न व्यक्तिहरूलाई अभियोजन गर्नेछ।’ दुई बुँदे सहमति पत्रमा भनिएको छे ,‘विदेशबाट इलेक्ट्रिक सिगरेट (ख्बउभक) मा सुन राखी अवैध पैठारी ( तस्करी) गरिएको, मिति २०८० श्रावण २ गते ब्रेक–सुमा राखी अवैध पैठारी (तस्करी) गरिएको सुन लगायत पटक पटक सुन तस्करी भई मुलुक भित्र आइरहेको विषयलाई गम्भीरतापूर्वक लिई स्वतन्त्र र निष्पक्ष छानबिन गर्न र यस्तो तस्करीजन्य कार्यको पूर्ण रुपमा नियन्त्रण गर्न मौजुदा कानूनमा गर्नुपर्ने परिमार्जन, संरचनागत सुधार र पटक पटकको सुन तस्करी सम्बन्धमा भएका छानबिन अनुसन्धान बारे समेत अध्ययन गरी सुझाव सहितको प्रतिवेदन पेश गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम २०८०÷०६÷०५ गते नेपाल सरकारले आयोग गठन गरी त्यसै दिनदेखि आयोगले कार्य प्रारम्भ गर्नेछ।’
प्रतिक्रिया दिनुहोस्