विराटनगर, असोज १३ । नेकपा एमाले कोशीको अध्यक्षका लागि मोरङका दुई नेताबीच प्रतिस्पर्धा हुनेभएको छ । विराटनगरमा शुक्रवारदेखि जारी नेकपा एमाले कोशी प्रदेशको पहिलो अधिवेशनमा प्रदेश कमिटी अध्यक्षका लागि मोरङ नेताद्वय बिनोद ढकाल र घनश्याम खतिवडाले उम्मेदवारी दिनुभएको हो ।
सहमतिमा नेतृत्व चयनका लागि गरिएका प्रयास असफल भएपछि निर्वाचन कार्यक्रम सुरु भएसँगै दुई मोरङका दुई जनाले उम्मेद्वारी दिएका हुन् । उपाध्यक्षमा भने धनकुटाका टीकाराम चेम्जोङ निर्बिरोध हुनुभएको छ । चेम्जोङ बर्तमान कमिटीका पनि उपाध्यक्ष हुनुहुन्छ ।
यस्तै सचिवमा उदयपुरका शैलेस लामा र पाँचथरका राजकुमार भण्डारीमो उम्मेदवारी परेको छ । लामा प्रदेश कमिटीका उपसचिव र भण्डारी पाँचथरका पूर्वजिल्ला अध्यक्ष हुनुहुन्छ ।
दुई उपसचिवका लागि चार जनाले मनोनयन दर्ता गरेका छन् । संखुवासभाका भविश्वर गुरुङ, खोटाङका देवान राई, झापाका जलबर्षा राजवंशी र मोरङका खेम नेपालीले उपसचिवमा उम्मेद्वारी दर्ता गर्नुभएको हो ।
अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित गर्नेछ । निर्वाचन समितिले आइतवार मतदानको कार्यक्रम राखेको छ ।
प्रतिक्रिया दिनुहोस्