जनता टाइम्स

१४ आश्विन २०८०, आईतवार १६:४१

दोलखाको लामाबगरबाट थप ४ किलो सुन बरामद


चरिकोट, असोज १४ । दोलखा प्रहरीले थप चार किलो सुन बरामद गरेको छ । चीनको तिब्बतसँग सिमाना जोडिएको विगु गाउँपालिका वडा नम्बर ३ लामाबगरबाट आज प्रहरीले चार किलो सुन बरामद गरेको हो ।

लामाबगर बस्तीको पारीपट्टी ढुंगाको ओडारमा लुकाईराखेको अवस्थामा चार किलो सुन बरामद भएको प्रहरीले जनाएको छ । चीनबाट अवैध रुपमा भित्रिएको सुन लुकाएको आशंकामा सिआइबी र दोलखा प्रहरीले तीन दिनदेखि लगातार खोजतलास गरिरहेको छ ।

लामाबगरबाट चार किलो सुन फेला परेसँगै प्रहरीले अवैध रुपमा भित्रिएको सुनको परिमाण ११ किलो पुगेको छ । सो सुन प्रकरणमा प्रहरीले अहिलेसम्म ७ जनालाई पक्राउ गरेको छ । प्रहरीले आज चार किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार आज पक्राउ पर्नेमा विगु गाउँपालिका–१ का ३० वर्षीय चसमान तामाङ रहेका छन ।