काठमाडौं, असोज १६ । दोलखामा बरामद ११ किलो सुन प्रकरणमा चिनियाँ नागरिकसहित थप ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक साथी भनिने गेङ, उनका सहयोगी सनत प्रधान र सुन किनबेचमा संलग्न लालबहादुर तामाङ रहेका छन ।
नेपाल प्रहरीका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार उनीहरुलाई स्वयम्भुबाट पक्राउ गरिएको हो । पक्राउ परेका मध्ये चिनियाँ नागरिक गेङले नै चीनबाट सुन मगाएको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरुले जनाएका छन ।
यसअघि प्रकरणमा ७ जना पक्राउ परिसकेका छन् । यो गिरोहले दोलखाको लामाबगर नाकाबाट आलुको बोरामा लुकाएर सुन तस्करी गर्ने गरेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय सुनसहितको आलुको बोरा लुटिएपछि यो विषय प्रहरीसम्म पुगेको थियो र अनुसन्धानका क्रममा सुन तस्करीमा संलग्नहरु पक्राउ परेका हुन ।
घटनाबारे जिल्ला प्रहरी कार्यालय, दोलखाबाट अनुसन्धान भइरहे पनि यसमा संगठित अपराधको कसुर पनि आकर्षित हुने भएकाले सीआईबीले पनि अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्