काठमाडौं, असोज १७ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा कम्पनीका नायव प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल नियुक्त हुनुभएको छ ।
नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मिति २०८०।०६।१७को निर्णय (मा. मन्त्रीस्तर) अनुसार उहाँलाई कम्पनीको प्रबन्ध निर्देशक पदमा अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको छ ।
उहाँले कम्पनीको नायव प्रबन्ध निर्देशकको रुपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आउनु भएको थियो भने आजदेखि निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्नु भएको छ ।
नवनियुक्त निमित्त प्रबन्ध निर्देशक पहाडीले भारतको अलाहावाद युनिभर्सिटीबाट बी.ई. र थाइल्यान्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एम.ई. गर्नुभएको छ । उहाँले २०४९ चैत २३ गते तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गर्नुभएको थियो भने २०५१ फाल्गुण १० गते स्थायी नियुत्ति लिनुभएको थियो । उहाँ २०७८ माघ १८ गते नायव प्रबन्ध निर्देशक नियुक्त हुनुभएको थियो ।
पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक पहाडीले सबैको सहयोगको अपेक्षासहित कम्पनीको उत्तरोत्तर प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । टेलिकमका प्रबन्ध निर्देशक सुनिलपौडेललाई भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि टेलिकम नेतृत्वबिहीन बनेको थियो । सञ्चार मन्त्रालयले पाहाडीलाई जिम्मेवारी तोकेसँगै टेलिकमले नेतृत्व पाएको हो ।
प्रतिक्रिया दिनुहोस्