काठमाडौं, असोज १८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदको सवैभन्दा ठूलो दल नेपाली कांग्रेस माओवादीको पुच्छर बनेको देखेर दुनियाँ चकित परेको बताउनु भएको छ ।
एमाले केन्द्रीय कार्यालयमा मधेसका चर्चित नेता एवं पूर्वमन्त्री शिवचन्द्र कुशवाहसहित ५ दर्जन नेता–कार्यकर्तालाई पार्टीमा प्रवेश गराउँदै अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो ।
‘कांग्रेस त साँच्चीकै बुढो भएन, सिद्धिएछ पनि, उस्को कामले नै यो भनिरहेको छ, ३२ सिटे माओवादीको पछाडि कांग्रेस यतिधेरै मरिहत्ते गरेर किन कुदिरहेको छ ? यो मैले बुझ्न सकेको छैन,’ एमाले अध्यक्ष ओलीले भन्नुभयो । उहाँले माधव नेपाललाई माओवादीको पछाडि कुदन सुहाउने भए पनि कांग्रेसलाई भने नसुहाएको बताउनु भयो ।

‘यो सरकारलाई जसरी पनि साथ दिइरहने हो भनेर माधव नेपालले भनेको समाचारमा पढें, माधव नेपालले भनेको ठीकै हो, जम्मा १० सिटे पार्टीलाई ३२ सिटेको पछाडि कुदन सुहाउँछ तर कांग्रेस पनि ३२ सिटेकै पछाडि कुदेको कुद्यै छ, यो चाँहि अलिक सुहाएन,’ अध्यक्ष ओलीले भन्नुभयो ।
अध्यक्ष ओलीले प्रचण्ड नेतृत्वको सरकारले एउटा पनि राम्रो काम नगरेको र गर्नै नचाहेको तथ्य बुझेर पनि कांग्रेसले साथ दिइरहनु भनेको मुलुक र जनताप्रतिको मजाक भएको बताउनु भयो । ‘यो सरकारले एउटा पनि राम्रो काम गरेको छैन, गर्न पनि चाँहदैन । यति निकम्मा सरकारलाई पनि बोकिरहनु पर्ने, पछिपछि हुदिरहनु पर्ने के कारण आइलग्यो होला कांग्रेसलाई ? ओलीको भनाई थियो ।














प्रतिक्रिया दिनुहोस्