जनता टाइम्स

१९ आश्विन २०८०, शुक्रबार १९:४७

काम चोरलाई होइन, काम गर्नेलाई नेतृत्वमा रोज्नोस : शंकर पोखरेल


काठमाडौं, असोज १९ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काम चोरलाई होइन काम गर्नेलाई नेतृत्वमा रोज्न सवै प्रतिनिधिहरुलाई आह्वान गर्नुभएको छ ।

एमाले उपत्यका प्रदेश विशेष कमिटीको प्रथम अधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनु भएको हो । ‘काम गर्ने सवैभन्दा योग्यलाई तपाईहरु आफै रोज्नोस, यसपटक तपाईभन्दा अर्काे ब्यक्ति योग्य हुनुहुन्छ भन्नोस, काम चोरहरूलाई नेतृत्व दिने होइन, निष्क्रियलाई नेतृत्व दिने होइन,’ महासचिव पोखरेलले भन्नुभयो ।

उहाँले अहिले राष्ट्रिय राजनीति चुनौतीपूर्ण र सङ्कटग्रस्त रहेको पनि बताउनु भयो ।महासचिव पोखरेलले ती चुनौती सामना गर्न नेकपा एमालेलाई सुदृढ गर्न आवश्यक रहेको बताउनुभयो । राजनीतिक अस्थिरता देशको अहिलेको प्रमुख चुनौती रहेको पोखरेलको भनाइ छ । देश बन्न नसक्नुको प्रमुख कारण राजनीतिक अस्थिरता भएको उहाँले प्रष्ट पार्नुभयो । एमालेलाई एक्लै बहुमत प्राप्त गर्ने शक्तिको रूपमा विकास गर्न अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

‘राजनीति अस्थिरता हाम्रा लागि अभिशाप बनिरहेको छ, बलियो राष्ट्रिय शक्तिको निर्माणबिना राजनीतिक स्थायित्व दिन सकिन्न,’ महासचिव पोखरेलले भन्नुभयो । समाजमा उत्पन्न सामाजिक अराजकता आजको अर्को ठुलो चुनौती रहेको निश्कर्ष पनि महासचिव पोखरेलले सुनाउनु भयो । नेपाल राष्ट्रलाई कमजोर बनाउन यस्ता क्रियाकलाप भएको उहाँले प्रष्ट पार्नुभयो । नेपाली समाजलाई कमजोर बनाउनको लागि धार्मिक, जातीय र सांस्कृतिक द्वन्द्व फैलाउने प्रयास भइरहेको पोखरेलको भनाइ छ ।

नेपाललाई सामाजिक सुरक्षामा आधारित लोककल्याणकारी राज्य बनाउने एमालेको अभियानलाई असफल बनाउन अदालतको सहारा लिएर एमाले नेतृत्वको सरकार ढाल्ने काम गरिएको उहाँले बताउनुभयो । एमाले जनताको जीवन सुरक्षा, देशको विकास, समृद्ध र राष्ट्रियताको पक्षमा गरेको काम देखेर एमालेलाई नियोजित रूपमा विभाजन गर्ने काम गरिएको पोखरेलको भनाई छ ।

गठबन्धन सरकारले जनता र राष्ट्रलाई कुनै सकारात्मक सन्देश दिन नसकेको तथ्य पनि महासचिव पोखरेलले राख्नुभयो । सरकार साधारण खर्चसमेत धान्न नसक्ने अवस्थामा पुगेको उहाँको भनाइ छ । समाजवादका नाममा दलाल पुँजीपतिहरूलाई संरक्षण गर्ने काम गठबन्धन सरकारले गरिरहेको उहाँले बताउनुभयो ।

उद्योग र व्यवसाय क्षेत्रको विकास नभई समाजवाद व्यवहारमा कार्यान्वयनमा आउन नसक्ने पोखरेलको भनाइ छ । नेकपा एमालेमा विभाजन ल्याउने नेताहरूको नाम जोडे सामाजिक सञ्जालमा अनर्गल प्रचार गरिएको भन्दै त्यसलाई चिर्न पोखरेलले आग्रह गर्नुभयो ।