जनता टाइम्स

२१ आश्विन २०८०, आईतवार १८:४९

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महरालाई चोख्याइयो, छोरा राहुलसहित ३ जनालाई मुद्दा चलाउन सिआइवीको राय


काठमाडौं, असोज २१ । विद्युतीय चुरोट (भेप) मार्फत् अवैध सुन तस्करीको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महरासहित तीन जनाविरुद्ध संगठित अपराध र भन्सार चोरी निकासीको कसुरमा मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले राय दिएको छ ।

सिआइवीले आफ्नो अनुसन्धान प्रतिवेदन बुझाउँदै जिल्ला सरकारी वकिलको कार्यालयलाई यस्तो राय दिएको हो । सिआइवीले तस्करी प्रकरणमा मुछिएका पूर्वसभामुख तथा सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई भने मुद्दा नचलाउन राय दिएको छ । पूर्वसभामुख महराका छोरा राहुल, तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ र सुन तस्करीमा संलग्न चिनियाँ नागरिक दावाजिन वाङका सवारी चालक लोकेन्द्र पौडेलविरुद्ध मुद्दा चलाउन सीआईबीले रायसहितको प्रतिवेदन बुझाएको हो ।

६१ किलो सुन प्रकरणमा समेत संलग्न दावा छिरिङ हाल कारागारमा छन् । यही कसुरमा एक जना नेपालीलाई फरार सूचीमा राखिएको छ । सुन ल्याउने चिनियाँ नागरिक दावाजिनसहित ६ चिनियाँलाई नेपालभित्र पक्राउ परेको बखत अनुसन्धान बमोजिम हुनेगरी खोजी सूचीमा राखिएको छ । भेप प्रकरणमा प्रतिवादी बनाइएकाविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३ सय ७४ रुपैयाँ बिगो कायम गरेर मुद्दा चलाउन राय दिइएको छ ।

२०७९ पुस १० मा दुबईबाट दावाजिन र अर्का एक चिनियाँ नागरिकको योजनामा भेपमा लुकाएर ९ किलो ११.५२४ ग्राम सुन भेटिएको थियो ।भेपका रुपमा ल्याइएको वस्तु शंकास्पद देखिएपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो । त्यसपछि भेप छुटाउन पूर्वसभामुख महरा र उनका छोरा राहुलले समेत दबाब दिएका थिए । महरा बाबुछोराले समेत २५६ पटक फोन गरेर सुन छुटाउने प्रयास गरेका थिए । त्यही सुन भन्सारबाटै चोरी भएर सीआईबीले अनुसन्धान गरेको थियो ।

गत असार २७ मुद्दा दायर भएपनि सुन ल्याउने समूहमाथि अनुसन्धान भएको थिएन । यो प्रकरणमा पूर्वसभामुख महरालाई प्रहरीले बयान कागज गराएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्रीको निर्देशनअनुसार प्रहरीले पूर्वसभामुख महरालाई कागज गराएर मुद्दा नचलाउन राय दिएको हो । जवकी प्रहरी प्रतिवेदनमै पूर्वसभामुख महराले दाओजिङसँग पटक पटक टेलिफोन सम्वाद गरेको देखिएको छ ।