काठमाडौं, असोज २५ । धार्मिक र सामाजि कसदभाव बिथोल्ने तत्व सक्रिय भइरहेको बेला देशको सुरक्षास्थिति बेवास्ता गर्दै तीनै वटा सुरक्षा निकायका प्रमुख विदेश लागेका छन । तीनवटै सुरक्षा निकायका प्रमुख बिदेश लागेपछि देश केही समयका लागि सुरक्षा निकायका प्रमुखविहीन बन्न पुगेको छ ।
नेपालका तीनैवटा सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरू अहिले विदेशमा छन । जस्को कारण तीनवटै संगठन निमित्तको भरमा चलेका छन ।
प्रधानसेनापति प्रभुराम शर्मा गत आइतबार बेलायत प्रस्थान गर्नुभएको थियो । त्यसैको भोलिपल्ट सोमबार नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवर पनि बेलायत जानुभयो । त्यसैगरी गत मंगलबार सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल पनि अमेरिकाको क्यालिफोर्नियातर्फ लाग्नुभएको छ ।
प्रधानसेनापति शर्मा बेलायतका चिफ अफ द जनरल स्टाफ प्याट्रिक स्यान्डर्सको औपचारिक निमन्त्रणामा बेलायत जानुभएको हो । उहाँको अनुपस्थितिमा निमित्त प्रधान सेनापतिको रूपमा बलाधिकृत रथी सरोजप्रताप राणाले सेनाको कार्यभार सम्हाल्नुभएको छ । प्रधान सेनापति शर्मा शुक्रवार नेपाल फर्कंदै सैनिक मुख्यालयले जनाएको छ ।
न्याय सुदृढीकरणसम्बन्धी कार्यक्रममा सहभागी हुन बेलायत जानुभएका प्रहरीका महानिरीक्षक कुँवरको पनि शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ । महानिरीक्षक कुँवरको अनुपस्थितिमा निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी पाउनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई पनि निमित्तको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापालाई सुम्पिएर अमेरिकाको क्यालिफोर्नियास्थित सानडिएगोमा आयोजना हुने इन्टरनेसनल एसोसिएसन अफ चिफ अफ पुलिस कन्फरेन्समा भाग लिन जानुभएको छ ।
त्यस्तै, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल पनि अमेरिकाको क्यालिफोर्नियामा आयोजना हुने इन्टरनेसनल एसोसिएसन अफ चिफ अफ पुलिस कन्फरेन्समा भाग लिन अमेरिका प्रस्थान गरेपछि निमित्त सशस्त्र प्रहरी महानिरीक्षकको जिम्मेवारी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले सम्हाल्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्