विराटनगर, असोज २५ । सत्तारुढ गठबन्धनले नेकपा माओवादी केन्द्रका इन्द्र आङबोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेलगत्तै नेपाली कांग्रेसको डा. शेखर कोइराला पक्षले एमालेसँग सत्ता समीकरण गरेको छ ।
नेपाली कांग्रेसका प्रदेश सभा सदस्य केदार कार्कीले नेकपा एमालेको समर्थनमा कोशी प्रदेशको मुख्यमन्त्री दाबी गर्नुभएको हो । कांग्रेस सांसद कार्कीले कांग्रेसका ८ र एमालेका ३९ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रमुख प्रमुखको कार्यालय पुग्नुभएको छ ।
कोशी प्रदेशसभामा एमालेका उपसभामुखसहित ४० सांसद छन । बहुमतका लागि ४७ सांसद आवश्यक हुन्छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम सरकार गठनका लागि हस्ताक्षर गर्दा सांसदलाई ह्वीप नलाग्ने र स्वतन्त्र हैसियत रहने सर्बोच्च अदालतको व्याख्या छ । कांग्रेसका सभापति शेरबहादुर देउवाले नै सर्वाेच्चमा दायर गर्नुभएको रिटमा संबैधानिक इजलासले यस्तो फैसला गरेको हो ।
कोशीमा संबिधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि प्रदेश प्रमुख परसुराम खापुङले आह्वान गर्नुभएको हो । शनिवारसम्म समय दिइएको भए पनि कार्कीले आज नै एमालेका ३९ जना सांसदको हस्ताक्षरसहित ४७ जना संख्या पुर्याएर दावी पेश गर्नुभएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीलाई मुख्यमन्त्री दिन सहमति जनाएपछि शेखर समुहले बिद्रोह गरेको हो । यता केन्द्रको निर्णय भन्दै पुरानो हस्ताक्षर बोकेर माओवादी सांसद आङबो पनि प्रदेश प्रमुखको कार्यालय जानुभएको छ ।













प्रतिक्रिया दिनुहोस्