जनता टाइम्स

२५ आश्विन २०८०, बिहीबार १९:५०

सशरीर उपस्थित भए केदारलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गर्ने कांग्रेस सांसद, हिमाल पनि केदारकै पक्षमा खुले


विराटनगर, असोज २५ । केन्द्रको निर्णय अस्वीकार गर्दै प्रदेश सभा सदस्य केदार कार्कीलाई मुख्यमन्त्री बनाउने पक्षमा उभिएका नेपाली कांग्रेस कोशीका ९ जना सदस्य शसरीर प्रदेश प्रमुखसमक्ष उपस्थित भएका छन ।

सत्ता गठबन्धनको निर्णय भन्दै नेकपा माओवादी केन्द्रका कोशी संसदीय दलका नेता इन्द्र आङबोले आफूहरुको पनि हस्ताक्षर बुझाएपछि कांग्रेसका सांसदहरु आफै प्रदेश प्रमुख परसुराम खापुङ समक्ष उपस्थित भएका हुन । कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्नुभएको कार्कीसहितका कांग्रेसका प्रदेशसभा सदस्यहरुले कोशी प्रदेशका प्रदेश प्रमुख समक्ष सशरीर उपस्थित भएर आफूहरुले दोहोरो हस्ताक्षर नगरेको बताउनु भएको छ ।

सांसदहरुले अरु कसैले आफ्नो हस्ताक्षर पेश गरेको भए त्यो झुटो र किर्ते गरिएको समेत प्रष्ट पार्नुभएको छ । कार्कीलाई मुख्यमन्त्री बनाउनका लागि पछाडि बुझाएको हस्ताक्षरमा दलको उपनेताबाट राजीनामा दिएका हिमाल कार्कीले समेत हस्ताक्षर गर्नुभएको छ । यो संगै कांग्रेसका ९ सांसद पुगेका छन । नेकपा एमालेका ३९ र कांग्रेसका ९ गर्दा ४८ सांसद पुग्छ ।

कोशीमा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाउन कांग्रेस सांसदहरु रामकुमार खत्री, शमशेर राई, गोविन्द गिरी, इन्दिरा थापा, मानबहादुर लिम्बू, सुनिता गुरुङ, लीलाकुमारी राई र सुनिता गुरुङसमेत सशरीर उपस्थित हुनुभएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै दलबाट मुख्यमन्त्री बन्ने अवस्थामा माओवादीलाई दिने निर्णय गरेपछि कोशीमा बिद्रोह भएको हो । आफ्नै दलको प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री बन्न नदिन सभापति देउवा लागेपछि आक्रोशित सांसदहरुले बिद्रोहमा उत्रिएर एमालेको समर्थनमा बहुमत जुटाएर मुख्यमन्त्रीमा दावी पेश गरेका हुन ।

कोशीमा शनिवारसम्म संबिधानको धारा १६८ को उपधारा ५ बमोजिम प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री दावी गर्न समय दिइएको छ । समय सकिनुभन्दा एक दिन अगावै आज दिउसो प्रधानमन्त्री निवास बालुवाटारमा माओवादीका आङबोलाई मुख्यमन्त्री बनाएर कांग्रेसका सांसद रोक्ने खेलमा लागेर देउवाले हस्ताक्षर गरेपछि कांग्रेस नेता केदार कार्कीले बिद्रोह गर्दै बहुमत जुटाएर मुख्यमन्त्रीमा दावी गर्नुभएको हो ।

कार्कीले ४८ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री दावी गरेपछि गठबन्धनबाट भन्दै माओवादीका आङबोले पुरानो हस्ताक्षर लिएर मुख्यमन्त्री दावी गर्नुभएको थियो ।

सर्वाेच्चको फैसला अनुसार उपधारा ५ अन्तर्गत मुख्यमन्त्री दावी गर्दा दलको नभई सांसदकै हस्ताक्षर आवश्यक पर्छ । सोही अनुसार कार्कीसहित ९ जना सांसद पार्टीको निर्णयविरुद्ध उभिनुभएको हो । कांग्रेसले माओवादीका आङवोलाई मुख्यमन्त्री बनाउने निर्णयको विरोध गर्दै कार्कीलाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन् ।