काठमाडौं, असोज २६ । राष्ट्रपति रामचन्द्र पौडेल सत्तारुढ गठबन्धनका मतियारको रुपमा देखिनुभएको छ ।
संबिधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन गर्दा दलको ह्वीप नलाग्ने सर्वाेच्चको फैसलाअनुसार कोशी प्रदेशमा मुख्यमन्त्री दावी गर्नुभएका कांग्रेस नेता केदार कार्कीलाई ब्याक हुन भन्दै सक्रिय बनेर राष्ट्रपति पौडेल सत्ता गठबन्धनको गोटीमा परिणत हुनुभएको हो ।
राष्ट्रपति पौडेलले कांग्रेस नेता डा. शेखर कोइरालालाई फोनमार्फत स्पष्ट बहुमतसहित मुख्यमन्त्री दावी गर्नुभएका केदार कार्कीलाई ब्याक गराउन निर्देशन दिनुभएको हो । संबिधानत राष्ट्रपति यस्तो बिषयमा बोल्न मिल्दैन । तर पौडेलले आफ्नो पदीय मर्यादा भुलेर यस्तो दवाव दिनुभएको हो ।
कोशी प्रदेशमा नेपाली कांग्रेसका सांसद केदार कार्कीले नेकपा (एमाले) का ३९ र कांग्रेसका ८ गरी कूल ४७ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेपछि कांग्रेसभित्र तरङ्ग पैदा गरेको छ । कांग्रेससहित माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टीले माओवादी संसदीय दल नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा समर्थन गर्ने निर्णय गरेका थिए । तर यो निर्णय कोशीमा शेखर कोइरालानिकट सांसदहरूले अस्वीकार गरे ।
बिहीबार प्रदेश प्रमुख परशुराम खापुङलाई भेटेर कार्की र आङ्बोले मुख्यमन्त्रीमा दाबी पेश गरेका छन्। कार्कीले ४७ सांसदको हस्ताक्षर बुझाएका छन भने आङ्बोले संसदीय दल नेताहरूको हस्ताक्षर बुझाएका छन । कोशीमा कांग्रेस केन्द्रले गरेको निर्णयविपरीत अस्वीकार गर्दै कोइराला पक्षका सांसदहरू उभिएपछि त्यसले पार्टीभित्र तरङ्ग पैदा गरेको छ।
यही बिषयमा कोइरालालाई राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस नेता ज्ञानेन्द्र कार्की लगायतले फिर्ता गराउन दवाव दिनुभएको हो । राष्ट्रपति पौडेलले आज बिहान नेता कोइरालालाई फोन गर्नुभएको हो । कोशीमा सांसद कार्कीले पनि मुख्यमन्त्रीमा उम्मेदवारी दिएको विषयमा केन्द्रित रहेर उहाँले कुराकानी गर्नुभएको थियो ।
‘राष्ट्रपतिज्यूले पनि कोशी मुख्यमन्त्रीको विषयमा चासो राख्दै नेता कोइरालालाई फोन गर्नुभएको हो,’ कोइरालानिकट एक केन्द्रीय सदस्यले भने, ‘जवाफमा कोइरालाले सभापति, महामन्त्रीहरू नेता कृष्ण सिटौला लगायतले माओवादीका आङ्बोलाई मुख्यमन्त्री छाड्न तयार भएको कुरा मैले प्रचण्डको मुखबाट सुन्नुपर्यो, कस्तो पार्टी बनायौं हामीले भन्ने कुरा राष्ट्रपतिसँग राख्नुभयो।’
कोइरालाले राष्ट्रपति पौडेललाई पार्टी बचाउन आफू योनिर्णयमा पुगेको भन्दै ब्याक हुन संभव नभएको जवाफ दिनुभएको छ । ‘हामी कोशीमा ब्याक हुन सक्दैनौं । पार्टी बचाउन मैले यो निर्णय गरेको हुँ । गठबन्धनभित्र कोशी कांग्रेसले लिने पहिले नै सहमति भएको हो, अहिले छाड्न मिल्दैन ।’ प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि कोइरालालाई फोन गर्नुभएको शेखर निकट नेताहरुले बताएका छन ।
प्रतिक्रिया दिनुहोस्