काठमाडौं, २६ असोज । नेकपा एमाले मधेश प्रदेशको पदाधिकारी सर्वसम्मत चयन भएको छ ।
अध्यक्षमा चण्डेश्वर मण्डलसहित पाँच पदाधिकारी सर्वसम्मत चयन हुनुभएको छ । मण्डल सिराहाका जिल्ला अध्यक्ष हुनुहुन्छ ।
उपाध्यक्षमा संविधान सभा सदस्य पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी (रौतहट) र मोहम्मद कैस (धनुषा) चयन हुनुभएको छ । अध्यक्षसहित पाँच जना पदाधिकारको नाममा सहमति जुटेको एमालेका मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले जानकारी दिनुभयो ।
निर्वाचन प्रक्रियाले उहाँहरूको नाम अनुमोदन गर्ने उहाँको भनाइ छ । ‘यो पदहरुका मनोनयन दर्ता भइरहेको छ । यी पदहरुमा एक जनाभन्दा बढीले उम्मेदवारी नदिने सहमति भएको छ । अब निर्वाचन प्रक्रियाले अन्तिम रुप दिइने छ ।
आजै पदाधिकारी निर्वाचित भएको घोषणा हुन्छ,’ उहाँले भन्नुभयो । जनकपुरधाममा बुधबारदेखि जारी एमालेको प्रथम अधिवेशनमा बिहीबार बिहानदेखि बन्दसत्रमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने कसरतपछि पदाधिकारीमा सहमति जुटेको हो ।
निर्वाचन समितिले बिहीबार साढे ५ बजे निर्वाचन तालिका र प्रतिनिधिको नामावली प्रकाशन गरेको थियो । पदाधिकारीसहित सदस्यहरुमा मनोनयन दर्ता भइरहेको एमाले नेता सन्तोष यादवले जानकारी दिनुभयो । सकेसम्म सदस्यसहित पदाधिकारी चयन गरेरै नयाँ नेतृत्वको घोषणा गर्ने एमालेको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्