जनता टाइम्स

२८ आश्विन २०८०, आईतवार १५:३५

कोशीबाट सुरु भयो कांग्रेस–एमालेबीच सत्ता सहकार्य : मुख्यमन्त्री कार्कीले नियुक्त गरे दुवै दलबाट एक–एक मन्त्री


बिराटनगर, असोज २८ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ ।

मुख्यमन्त्री कार्कीले आफ्नो शपथ ग्रहणअगावै दुई मन्त्री नियुक्त गरी तीन सदस्यीय मन्त्रिपरिषद गठन गर्नुभएको हो । उहाँहरुले केहीबेरमा पद तथा गोपनियताको शपथ लिन लाग्नुभएको छ ।

शनिबार कांग्रेसका प्रदेश सांसद कार्कीलाई मुख्यमन्त्री नियुक्त भएका कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले दुई जनालाई मन्त्री नियुक्त गर्नुभएको छ । कांग्रेसका विद्रोही सांसदमध्ये शम्शेर राई र एमालेबाट संसदीय दलका उपनेता रामबहादुर मगर मन्त्री नियुक्त गरिएको हो ।

राई र मगर दुवैजना एउटै जिल्ला इलामबाट निर्वाचित प्रदेश सांसद हुनुहुन्छ । यसअघि उद्धव थापा नेतृत्वको सरकारमा एउटै जिल्लाबाट दुई जना मन्त्री भएर ओखलढुंगा भाग्यमानी साबित भएको थियो ।

कांग्रेसबाट विद्रोह गरेर एमालेको समर्थनमा कार्की प्रदेशको आठौं मुख्यमन्त्री नियुक्त हुनुभएको हो । कांग्रेसबाट विद्रोह गरेका ८ र एमलेका ३९ सहित ४७ प्रदेश सांसदको सनाखत गराएर प्रदेश प्रमुख खापुङले कार्कीलाई शनिबार मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो ।

कोशीका मुख्यमन्त्रीमा कार्कीलाई नियुक्त गरेपछि सत्ता गठबन्धन कायम राख्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले आफूहरुको मुख्यमन्त्री कार्की नै भएको बताउनु भएको थियो । उहाँहरुले कार्कीले गठबन्धनकै सदस्यलाई मन्त्री बनाउने र एमालेलाई बाहिर राख्ने बताए पनि कार्कीले अस्वीकार गरी एमाले र कांग्रेसबाट बिद्रोह गरेका सांसदलाई नै मन्त्री नियुक्त गर्नुभएको हो ।

कार्कीको यो निर्णयसँगै प्रधानमन्त्री दाहाल झस्कनु भएको छ । दाहालले आफू जस्तै बेइमान बनेर एमालेले मुख्यमन्त्री बनाएको भएपनि धोका दिन सुझाउनु भएको थियो ।